दार्चुलाको नौगाड गाउँपालिकामा रहेको केदारेश्वरी माध्यमिक विद्यालयले गत साउनमा विज्ञान विषयका एकजना शिक्षक माग गर्दै आठौँपटक विज्ञापन गर्यो । जहाँ एक जनाको मात्र आवेदन पर्यो ।
६ साउनमा बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार, विद्यालयले संघीय शिक्षण सिकाई अनुदानमा कक्षा ९–१० मा विज्ञापन विषय अध्यापन गराउन एकजना शिक्षकको लागि विज्ञापन खुलाएको थियो । तर, विद्यालयले सातौँपटकसम्म विज्ञापन गर्दा पनि आवेदन नपरेपछि पुनः आठौँपटक विज्ञापन आह्वान गरिएको थियो ।
आवेदकको परीक्षा लिने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक तिर्थराज विष्टले जानकारी दिए । आवेदन दिएकै व्यक्ति नियुक्त हुन्छन् भन्ने एकिन पनि अहिले नै भइसकेको छैन । आवेदन दिएका ती व्यक्तिले शिक्षक छनोट समितिले लिने परीक्षामा उत्तीर्ण भएको खण्डमा मात्र नियुक्ति पाउने छन् नत्र विद्यालयले पुनः नयाँ विज्ञापन आह्वान गर्ने प्रधानाध्यापक विष्टले बताए ।
पठनपाठनका लागि विद्यालयले शिक्षक लाइसेन्स भएको व्यक्ति खोजिरहेको थियो । आठौँ पटकको विज्ञापनमा मात्र शिक्षक लाइसेन्स भएका व्यक्तिको आवेदन पर्यो ।
यसरी पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाउने केदारेश्वरी माध्यमिक विद्यालय एक उदाहरण मात्र हो । अहिले विशेष गरी दुर्गम जिल्लाका सामुदायिक विद्यालयले शिक्षक अभाव खेपिरहेका छन् ।
डोटीको सायल गाउँपालिकामा रहेको श्री भवानी स्थान माध्यमिक विद्यालयले गत २६ कात्तिकमा विज्ञान र गणित विषयको शिक्षकका लागि चौथोपटक आवेदन खुला गर्यो । तर, अझै पनि विद्यालयले शिक्षक भने पाइसकेको अवस्था विद्यालयले खुलाएको विज्ञापनमा दुई जनाको मात्र आवेदन दिएकोमा एकजना मात्र परीक्षामा सहभागी हुने पक्का भएको विद्यालयका शिक्षक अमर गिरीले जानकारी दिए ।
उनका अनुसार आवेदन दिने दोस्रो व्यक्तिलाई कार्यरत रहेको विद्यालयले राजीनामा स्वीकृत नगरिदिएको कारण एकजना मात्र परीक्षामा सहभागी हुन भएका छन् ।
भवानी स्थान माध्यमिक विद्यालयमा कक्षा १० मा ३० जना र कक्षा ९ मा ७२ जना विद्यार्थी अध्ययनरत छन् । यसैगरी बाजुराको बडिमालिका नगरपालिका–७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयले भने चौथोपटक विज्ञापन आह्वान गरेपछि गणित विषयको शिक्षक पाएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक जनकराज पण्डितले यही १७ मंसिरदेखि शिक्षक विद्यालयमा उपस्थित भएको जानकारी दिए । शिक्षण पेसाले नयाँ पुस्तालाई आकर्षण गर्न नसकेकाले अहिले विद्यालयलाई शिक्षक पाउन मुस्किल भइरहेको उनको अनुभव छ ।
गणित, विज्ञान र अंग्रेजी विषयलाई मुख्य विषय बनाएर अध्ययन गरेका अधिकांश व्यक्ति निजामती सेवामा प्रवेश गर्ने, इन्जिनियरिङ र चिकित्सक, क्षेत्रमा जाने भएकाले पनि यी विषयका शिक्षक अभाव अन्यको तुलनामा बढी हुने गरेको छ । माध्यमिक तह अध्यापन गराउने शिक्षकले लाइसेन्स अनिवार्य भएपछि अहिले विद्यालयले शिक्षक अभाव खेपिरहेको निमित्त प्रधानाध्यापक पाण्डे बताउँछन् ।
दोलखाको श्री अमर माध्यमिक विद्यालयले पनि यस्तै नियति खेपिरहेको छ । २ मंसिरमा चौथोपटक करार कोटामा गणित विषयका लागि शिक्षकको विज्ञापन आह्वान गरेको थियो ।
विद्यालयले विज्ञापन खुलाएको १५ दिनको समय दिएपछि चौथो पटकमा बल्ल आवेदनकर्ता भेटाएको विद्यालयका प्रधानाध्यापक नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार तेस्रो पटकसम्म विज्ञापन गर्दा एक जनाले पनि आवेदन दिएका थिएनन् । अहिलेको नयाँ र दक्ष जनशक्तिमा शिक्षक बन्ने चाहना नभएकाले यो पेसाप्रति आकर्षण घट्दै गएको प्रधानाध्यापक झाको अनुभव छ । शिक्षण पेसामा गएर केही हुँदैन भन्ने मानसिकता हाबी भएका कारण पनि शिक्षक अभावको समस्या बढेको उनले बताए ।
विज्ञान, गणित र अंग्रेजी विषयलाई ‘मेजर सब्जेक्ट’ बनाएर अध्ययन गरेका विद्यार्थीले शिक्षण पेसामा भन्दा पनि अन्य क्षेत्रमा राम्रो अवसर तथा सेवासुविधा पाउने भएकाले यो पेसामा नआउने शिक्षक झाको भनाइ छ । शिक्षण पेसालाई अवलम्बन गर्ने व्यक्तिले सामान्य जीवनयापन गर्न पनि मुस्किल पर्ने भएका कारण शिक्षक पाउन समस्या भएको उनको बुझाइ छ ।
‘मा.वि तहमा अध्यापन गराउने एउटा शिक्षकको तलब सामान्यतया ४२/४३ हजार रूपैयाँ हुन्छ । त्यो व्यक्तिले काठमाडौंमा २५ हजार रुपैयाँ तिरेर एक फल्याट (कोठा) भाडामा लिएर बस्न सक्छ ? सामान्य जीवनयापन गर्न पनि समस्या हुने भएपछि जता सेवासुविधा बढी हुन्छ । त्यतै जानु स्वाभाविक हो,’ शिक्षक झाले भने ।
अन्य विषयभन्दा अंग्रेजी, गणित र विज्ञानका शिक्षक पाइँदैनन् । विभिन्न सरकारी तथ्यांकले पनि अन्य विषयको तुलनामा यी विषयमा शिक्षक दरबन्दी नै कम रहेको देखाएको छ ।
शिक्षकलाई तालिम, प्रोत्साहनलगायत विभिन्न सेवासुविधा अभाव रहेकाले शिक्षण पेसामा आकर्षण घट्दै गएको जानकार बताउँछन् । अन्य पेशाकर्मीलाई सरकारले इन्धन, सवारी, प्रोत्साहनलगायत विभिन्न सेवासुविधा उपलब्ध गराउने तर शिक्षकले नितान्त तलबमा मात्र काम गर्नुपर्ने त्यो पनि मासिकरूपमा तलब पाउने व्यवस्था नभएकाले पनि शिक्षण पेसामा आकर्षण घट्दै गएको शिक्षक बताउँछन् ।
भौगोलिकरूपमा दुर्गम र विकट जिल्लामा रहेका सामुदायिक विद्यालयले शिक्षक अभावको समस्या अन्य क्षेत्रमा रहेका विद्यालयको तुलनामा बढी खेपिरहेका छन् ।
शिक्षक अभाव हुनु वा नपाइनु फरक कुरा हो । तर, यहाँ त सरकारले नै अझै १ हजार ७ सय ३२ वटा सामुदायिक विद्यालयमा एउटा पनि दरबन्दी दिन नसकेको अवस्था छ । यो भन्दा ठूलो संख्याका विद्यालयमा शिक्षक–विद्यार्थी अनुपातका आधारमा विषयगत स्थायी शिक्षकको दरबन्दी छैन ।
‘शिक्षण पेसामा विश्वभर नै आकर्षण घट्दैछ’
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला शिक्षण पेसा दुःखी पेसा भएका कारण यसप्रति आकर्षण घट्दै गएको बताउँछन् । शिक्षकले समाज र सरकारलाई पनि जवाफ दिनुपर्ने, अन्य पेसामा लागेका व्यक्तिले जिउने जीवनयापन र शिक्षकको जीवनयापनमा देखिने अन्तरले पनि शिक्षण पेसामा युवा जनशक्तिको अभाव देखिएको कोइरालाको विश्लेषण छ ।
विद्यार्थीले नपढ्दा पनि शिक्षकले गाली खानुपर्ने, सामाजिक र राजनीतिक हिसाबले कुनै पक्षको साथ नलिई नहुने भएका कारण पनि यो पेसामा आकर्षण घटेको उनको बुझाइ छ ।
‘शिक्षण पेसामा मान्छे आएनन्, यो पेसालाई आकर्षण बनाउनुपर्छ भन्ने एउटा चिन्तन हो । स्थानीय मानिसलाई शिक्षकको रूपमा उपयोग गर्ने चलनचल्ती विश्वभर छ,’ उनले भने ।
स्थानीयलाई शिक्षक बनाउँदा जुत्ता सिलाउने, आरण चलाउन, लुगा सिउनेलगायत सीप जानेकालाई शिक्षकको रूपमा उपयोग गर्ने बाटो अवलम्बन गर्नु व्यावहारिक हुने कोइरालाको भनाइ छ ।
प्रविधि पुग्न नसक्ने स्थानमा शिक्षक पठाउने र विद्युत्, इन्टरनेटको पहुँच भएका स्थानका विद्यालयमा प्रविधिको प्रयोगमार्फत अध्यापन गराउने कामलाई अघि बढाउन सकिने विज्ञहरू बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।