नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वाधिक महँगो टिममा पर्छ, पोखरा एभेन्जर्स । उसले टिमको स्वामित्व किन्न मात्र सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ खर्च गर्यो । यस्तै, पोखराले अक्सनमा ८० लाख ५० हजार रुपैयाँ खर्चियो ।
मूल्य सार्वजनिक नगरे पनि उसले विदेशी खेलाडी अनुबन्ध गर्न पनि राम्रै दाम खर्चिएको छ । साथै, पोखराले प्रशिक्षक भित्र्याउन महँगो मूल्य खर्च गरेको देखिन्छ । पोखराको हेडकोचको जिम्मेवारी भारतका राजीव कुमारले सम्हालिरहेका छन् ।
उनीसँग विश्वको प्रतिष्ठित लिग आइपिएलमा समेत प्रशिक्षण गरेको अनुभव छ । राजीवले गत संस्करणको आइपिएलमा चेन्नई सुपर किंग्स (सिएसके) जस्तो सफल टिमको फिल्डिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
यस्तै, उनी भारतको ‘ए’ टिमको प्रशिक्षकसमेत बनिसकेका छन् । पोखराले हेड कोचमा मात्र होइन टिम मेन्टरको रूपमा पनि विश्वचर्चित पूर्वखेलाडीलाई नियुक्त गरेको छ । उसले मेन्टरको जिम्मेवारी फिल्डिङका ‘बादशाह’ दक्षिण अफ्रिकी स्टार जोन्टी रोड्सलाई दिएको छ ।
अनुभवी प्रशिक्षक र मेन्टर जोडिएपछि पोखरा उत्साहित थियो । साथै, टिमको हौसला बढाउन पोखराले समर्थकका लागि निःशुल्क टिकट र खाजासहित बस सेवा पनि उपलब्ध गराइरहेको छ । तर, टिमले लगातार पराजय बेहोरेपछि ‘मेरो दिल छ पोखरा’ मा भन्दै कीर्तिपुर पुगेका समर्थक दिक्क मान्दै घर फर्किरहेका छन् ।
पोखराले दुई म्याच खेल्दा दुवैमा फराकिलो पराजय बेहोरेको छ । उसले पहिलो खेलमा जारी सिजनकै खराब प्रदर्शन गर्यो । चितवन राइनोजविरुद्धको उक्त म्याचमा १६१ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रनमै अलआउट भयो ।
योसँगै ऊ जारी संस्करणको एनपिएलमा कम स्कोरमै अलआउट हुने टिम बन्यो । चितवनविरुद्ध पोखराका दुई खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सके । निकै खराब सुरुवात गरेको पोखराले आफ्नो पराजय यात्रा बिहीबार पनि जारी राख्यो ।
यस खेलमा ऊ जनकपुर बोल्ट्सविरुद्ध ७ विकेटले पराजित भयो । जनकपुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । उसका कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।
दुई म्याच खेल्दा टिम कप्तान कुशल भुर्तेल निकै खराब लयमा देखिए । टियू मैदानमा प्रायः छाइरहने उनी यसपटक भने सस्तैमा पवेलियन फर्किरहेका छन् । पहिलो खेलमा ‘गोल्डेन डकआउट’ भएका भुर्तेल जनकपुरविरुद्ध पनि मैदानमा टिक्न सकेनन् ।
यस खेलमा उनले ६ बलमा ६ रन मात्र बनाए । साथै, पोखराले विदेशी ब्याटरबाट पनि राम्रो साथ पाउन सकेको छैन । पोखरामा विदेशी खेलाडीको रूपमा नेदरल्याण्ड्सका बास डि लिडे, स्कटल्याण्डका माइकल लिस्क, अमेरिकाका आन्द्रेस गौस, इंग्ल्याण्डका म्याट क्रिचले, वेस्ट इण्डिजका रेमन रेइफर र इंग्ल्याण्डका जेन मलिक रहेका छन् । तर, उनीहरू पनि लयमा देखिएका छैनन् ।
दुई फराकिलो हारले दबाबमा रहेको पोखरा अहिले अंक तालिकाको सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।