रूपन्देहीमा रहेका सिमेन्ट उत्पादक उद्योगहरूले मनोमानीरूपमा सिमेन्टको मूल्य वृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् । डेढ महिनामै सिमेन्टमा पटक–पटक मूल्यवृद्धि हुँदा घर निर्माणको योजना बनाइरहेका उपभोक्ता मारमा परेका हुन् ।
रूपन्देहीमा १२ वटा सिमेन्ट उद्योग रहेका छन् । गोयन्का सिमेन्ट उद्योग र रियलायन्स सिमेन्ट उद्योग अहिले बन्द अवस्थामा छन् । बाँकी १० वटा सिमेन्ट उद्योगले मनोमानीरूपमा सिमेन्टको मूल्य वृद्धि गरेका छन् ।
एक महिना अघिसम्म ३५० रुपैयाँ रहेको सिमेन्टको मूल्य अहिले ५५० रुपैयाँ पुगेको छ । बजारमा सिमेन्टको मूल्य बढेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लामा रहेका सिमेन्ट उद्योगमा अनुगमन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय भैरहवा, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले संयुक्तरूपमा उद्योग अनुगमन गरेका छन् । अनुगमनको क्रममा उद्योगले उचित कारणबिना सिमेन्टको मूल्य वृद्धि गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका अनुगमन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
जिल्लाको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक उद्योग अर्घाखाँची सिमेन्ट उद्योगले डेढ महिनामै २ सय रुपैयाँसम्म मूल्यवृद्धि गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार उद्योगको बिक्री रसिद निरीक्षणको क्रममा अस्वाभाविक मूल्यवृद्धि भएको भेटिएको छ ।
कात्तिक १ गते उद्योगबाट पिपिसी सिमेन्ट ३२७ रुपैयाँ रहेको थियो । कात्तिक ५ गते ३३६ रुपैयाँ, कात्तिक २५ गते ३६३ रुपैयाँ प्रतिबोरा मूल्यमा उद्योगबाट सिमेन्ट बिक्री भइरहेकामा मंसिर १५ गते यसको मूल्य उद्योगले ३९८ रुपैयाँ पुर्याएको थियो ।
यो मूल्यमा प्रतिबोरा ११ रुपैयाँ अन्तशुल्क कर र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर बजार जाने गरेको छ । यस अर्थमा कर सहित मंसिर १५ गतेको सिमेन्टको मूल्य प्रतिबोरा ४ सय ६२ रुपैयाँ पुग्छ । मंसिर १५ गते मूल्य बढाएको अर्घाखाँची सिमेन्ट उद्योगले मंसिर १७ गते पुनः आफ्ना डिलरहरूलाई परिपत्र गरी पिपिसी सिमेन्ट ५५० रुपैयाँ प्रतिबोरा बिक्री गर्न आदेश दिएको छ ।
उद्योगले पिपिसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । ओपीसी सिमेन्ट कात्तिक १ गते कर सहित ४७२ रुपैयाँ प्रतिबोरा रहेकोमा मंसिर १७ गतेको परिपत्रले उद्योगले उक्त सिमेन्ट ६३० रुपैयाँ प्रतिबोरा बिक्री गर्न आदेश दिएको छ । अनुगमन समितिले अर्घाखाँची सिमेन्ट उद्योगसँगै जगदम्बा सिमेन्ट उद्योग प्राली र वृज सिमेन्ट उद्योग प्रालिमा समेत अनुगमन गरेको थियो । सो क्रममा यी दुई उद्योगले पनि अस्वाभाविक मूल्यवृद्धि गरेको सहायक प्रजिअ भण्डारी बताउँछन् ।
जगदम्बा सिमेन्ट उद्योग प्रालिले कात्तिक १ गते पिपिसी सिमेन्ट ३०३ रुपैयाँ प्रतिबोरा र ओपीसी सिमेन्ट ३८२ रुपैयाँ प्रतिबोरा बिक्री गरेकोमा मंसिर १९ गते सिमेन्टको मूल्य क्रमशः ४५८ रुपैयाँ र ५२८ रुपैयाँ प्रतिबोराको दरले बिक्री गरेको छ ।
वृज सिमेन्टको मूल्य पनि सोही हाराहारीमा बढेको छ । कात्तिक १ गते पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ३२८ रुपैयाँ र ओपीसी सिमेन्ट ४१७ रुपैयाँ रहेकोमा मंसिर १८ गते यो मूल्य बढेर क्रमशः ४३५ रुपैयाँ र ४५४ रुपैयाँ प्रतिबोरा भएको छ । कुनै स्वभाविक कारण बिना नै सिमेन्ट उद्योगहरूले कार्टेलिङ्ग गरी सिमेन्टको मूल्य बढाउदा उपभोक्ता मूल्यवृद्धिको मर्कामा परेका छन् ।
‘एक महिना अघिसम्म सबै सामान्य थियो, अहिले दादागिरी देखाउँदै उद्योगहरूले बढी मूल्यमा सिमेन्ट बिक्री गर्न उर्दी जारी गरेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक डिलर सञ्चालक भन्छन्, ‘हामीले ग्राहकबाट अग्रिम रकम लिएका छौँ, उहाँहरूलाई अब कसरी सिमेन्ट आपूर्ति गर्ने ?’
अनुगमनको क्रममा सिमेन्ट उद्योगले उपभोक्ताले पाउने सामान्य जानकारी पनि बोरामा नराखेको पाइएको छ । उत्पादित वस्तुको मूल्य, त्यसको उपभोग योग्य मिति, अन्य विवरणसमेत हुनु पर्नेमा त्यस्तो केही छैन । अर्घाखाँची सिमेन्ट उद्योगले उत्पादित मिति लेख्ने गरे पनि त्यो अस्पष्टरूपमा रहेको थियो । त्यो बाहेक बोरामा अन्य जानकारी थिएन । जगदम्बा सिमेन्ट उद्योग प्रालिले भने त्यो मिति पनि मार्करले प्रत्येक बोरामा लेख्ने गरेको छ । उपभोक्ताले तिर्नुपर्ने अधिकतम खुद्रा मूल्य कुनै पनि सिमेन्ट उद्योगले उल्लेख गरेका छैनन् ।
उद्योगीहरूले भने सिमेन्टको कच्चा पदार्थमै मूल्यवृद्धि भएको कारण सिमेन्टको मूल्य बढेको दाबी गरेका छन् । वृज सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक रवि रञ्जन गुप्ताले क्लिंकरको मूल्यमा वृद्धि भएकोले मूल्य बढेको दाबी गरे । उद्योगीहरूले क्लिंकरको मूल्य बढेको बताइरहँदा अनुगमन समितिले क्लिंकर खरिदको बिल समेत निरीक्षण गरेको छ ।
उद्योगीहरूले क्लिंकरको मूल्य वृद्धि भएको कारण सिमेन्टको मूल्य बढाउनु परेको बताइरहँदा तथ्यांकले भने क्लिंकरको मूल्यमा खासै वृद्धि नभएको देखाएको छ । जगदम्बा सिमेन्ट उद्योग प्रालिले सर्वोत्तम सिमेन्ट लिमिटेड र सिजी सिमेन्ट इण्डष्ट्रिज प्रालिबाट क्लिंकर खरिद गर्ने गरेको छ ।
सर्वोत्तम सिमेन्टको ३० कात्तिकको रसिदबाट जगदम्बा सिमेन्टले ६ हजार १५० रुपैयाँ प्रति मेट्रिक टन क्लिंकर खरिद गरेको देखिएको छ । यस्तै मंसिर १३ गते उद्योगले सर्वोत्तमबाट नै पुनः सोही मूल्यमा क्लिंकर खरिद गरेको छ । सिजी सिमेन्ट इण्डष्ट्रिजले जगम्बालाई मंसिर १६ गते ६ हजार २०० रुपैयाँमा प्रतिमेट्रिक टन क्लिंकर बिक्री गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले अनुगमनको क्रममा उद्योगहरूमा कैफियत देखिएको बताउँदै आवश्यक छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउने बताए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।