यही १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचन २०८१ सम्पन्न भएर पनि मतपरिणाम आइसकेको छ । तर, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरमा गरेको एउटा चुनावी भाषणको चर्चा अझै सेलाएको छैन ।
उपचुनावमा कीर्तिपुरबासीसँग आफ्ना उम्मेदवारलाई भोट माग्नेक्रममा थापाले मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिने सपना देखाएका थिए । उक्त कुरालाई लिएर सामाजिक सञ्जालमा उनलाई धेरै ट्रोल पनि गरे ।
‘कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ । जसको घरबाट निस्किएका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि ‘यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन्,’ चुनावी सभामा थापाले भनेका थिए ।
उनले भनेको कुरा गलत हो ? गगनले के जनतासामु हावा बोलेकै हुन् ? उनले भनेजस्तो एउटा ल्यापटपका भरमा मासिक ३/४ लाख देशभित्रै कमाउन सकिन्छ ? यी प्रश्नको जवाफमा सूचना प्रविधि क्षेत्रका विज्ञ गगनसँग सहमति जनाउँछन् । सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रमा सम्भावना धेरै रहेको बताउँछन् ।
अहिले नेपालमै बसीबसी युवाहरूले आईटी क्षेत्रमा काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । ‘गगन थापाले भन्नु भएको कुरा हावा होइन । आईटी क्षेत्रमा काम गरेर धेरै युवाले अहिले पनि लाखौँ रुपैयाँ कमाइरहेका छन् । नेपालमा आईटीको क्षेत्रमा धेरै राम्रो छ,’ श्रेष्ठले भने ।
उनका अनुसार अहिले पनि नेपालले वार्षिक अर्बौँ रुपैयाँको आईटी सेवा निर्यात गर्दै आएको छ । आईटी क्षेत्रको सीप हुनेले राम्रो आम्दानी गर्न सक्छन् । आईटी क्षेत्र विशेषगरी इन्टरनेटसँग सम्बन्धित क्षेत्र हो । कम्प्युटर, मोबाइल, एकजना मात्र बस्ने मिल्ने ठाउँ, खासै ठूलो लगानी नगरी राम्रो आम्दानी गर्न सकिने सफ्टेड ग्रुपका अध्यक्ष श्रेष्ठ भन्छन् ।
‘यो क्षेत्र भनेको थोरै काम गरेर धेरै पैसा कमाइने हो,’ उनले भने, ‘आईटीसम्बन्धी ज्ञान सीप हुनुपर्छ । मासिक ७०/८० हजारका लागि विदेश जानै पर्दैन ।’
आईटी क्षेत्रमा रमाएकाले हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइन, एनिमेसन, टेलिमेडिसिन, अनलाइन मार्केटिङलगायतबाट राम्रो आम्दानी गरिरहेका छन् । यस क्षेत्रमा नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडालगायत जुनसुकै देशको काम गर्न सकिन्छ । यसमा विश्वभर रोजगारी पाइन्छ । त्यसैले पनि रोजगारीको कुनै चिन्ता नरहेको श्रेष्ठ तर्क गर्छन् । तर, यसका लागि नेपाल अलि पछाडि छ । त्यसका लागि युवालाई सूचना प्रविधितर्फ अग्रसर गराउने वातावरण सरकारले तयार पार्नुपर्ने उनी बताउँछन् ।
पछिल्लो समय आईटी क्षेत्रमा विद्यार्थीको आकर्षण पनि बढिरहेको छ । थुप्रै कलेजले यस विषयलाई महत्व दिएर पढाइरहेका छन् । जुनसुकै विषयमा प्लस टु पास गरेकाहरूले पनि सूचना प्रविधिसम्बन्धी पढ्न सक्छन् । तर, अब कक्षा १ देखि नै आईटीलाई अनिवार्य विषयमा समेटेर पढाउन थाल्नुपर्ने आवश्यकता देखिन्छ । हालसम्म नेपालमा आईटी क्षेत्रले जति पनि उपलब्धि गरेको छ, त्यो उनीहरूले आफ्नो क्षमताका आधारमा गरेको हो ।
प्रस्तुत छ, आईटी क्षेत्रका सम्भावना, फाइदा र यसबाट गर्न सकिने आम्दानीलगायत विषयमा केन्द्रित भएर सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसँग गरिएको कुराकानी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।