शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताएकी छिन् । कास्कीको पोखरा महानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव समापन कार्यक्रममा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन निर्माणको काम सकेर कार्यान्वयन गर्ने तयारीमा रहेको बताएकी हुन् ।
‘शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्नुपर्छ भनेर योजनासमेत बनाइसकेको छ । यो ऐन कार्यान्वयन गर्ने हो भने नेपाल सरकारले २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्छ भन्ने खाकासहित कार्ययोजना तयार गरेका छौँ’, उनले भने, ‘सुरुआत कहाँबाट गर्ने भन्दा संघीय सरकार अन्तर्गतका जति पनि निकाय छन् । तिनीहरूले जति शुल्क उठाइरहेका छन् ती शुल्क हटाउँदै लैजानुपर्छ ।’
यसको सुरुआत यही वर्षमा गर्ने गरी तयारी थालिएको उनको भनाइ छ । मन्त्रालयले खाजा, पुस्तक, ट्युसन शुल्क निःशुल्क गर्दा पनि सार्वजनिक विद्यालयमा विद्यार्थी घटिरहेकाेमा मन्त्री भट्टराईले चिन्ता व्यक्त गरिन् ।
‘जबसम्म स्थानीयले अनुगमन गर्न सक्दैन । त्यति बेलासम्म विद्यालयले केही पनि गर्न सक्दैन’, उनले भनिन्, ‘यसैलाई मध्यनजर गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सबै स्थानीय तहमा शिक्षा योजना हुनुपर्छ भन्ने प्रावधान बनाएको छ ।’
यो ऐन कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्री भट्टराईले नेपालका विद्यालयमा पढाइने पाठ्यक्रम समय सान्दर्भिक बनाउन जरुरी रहेको बताइन् । मन्त्रालयले सामाजिक शिक्षा विषयको पाठ्यक्रमलाई पुनरावलोकन गरिरहेको उनले जानकारी दिइन् ।
‘देशलाई चिनाउने, माटोलाई चिनाउने अनि हाम्रो देशमा भएका विश्वविद्यालयका बारेमा जानकारी गराउने गरी हाम्रा पाठ्यक्रम निर्माण गरिनुपर्छ’, उनले भनिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।