भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले आज काठमाडौंमा एक फन्को लगाएर स्वदेश फर्किएका छन् । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका राजा वाङचुकले करिब ४ घण्टा काठमाडौंमा बिताए ।
भारत भ्रमण गरेर नेपाल आएका उनले भुटान फर्किनेक्रममा काठमाडौं ट्रान्जिट पार्दै बौद्ध तीर्थस्थलमा पुगेर पूजा गरे । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिधै स्वयम्भूनाथ पुगे । त्यसलगत्तै वाङचुक बौद्धनाथ पुगेर पूजाअर्चना गरे । त्यहीँबाट उनी विमानस्थल फर्किए ।
रानी जेट्सुन पेमा वाङ्चुकसहित आएका राजा वाङचुकको निजी भ्रमण रहेकोले नेपालसँग उनको औपचारिक तथा उच्चस्तरीय भेटघाट भने भएन । यद्यपि, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनलाई स्वागत गरिन्, उनैले बिदाइ गरिन् ।
ज्ञानेन्द्रसँग भएन भेट
नेपाली पूर्वराजा ज्ञानेन्द्र शाहले गत असोजमा भुटान भ्रमण गरेका थिए, जहाँ उनलाई त्यहाँको राजपरिवारले न्यानो आतिथ्यता प्रदान गरेको थियो । अहिले भुटानका राजा नेपाल आउने खबरका बीच उनले पूर्वराजा शाहलाई भेट्न सक्ने अनुमान थियो । तर, राजा वाङचुकले न पूर्वराजालाई भेटे, न त सिंहदरबार छिरेर नेपाली राजनीतिज्ञलाई नै भेटे ।
राजा वाङचुक काठमाडौं ओर्लिँदा पूर्वराजा शाह भने गत सोमबारबाट उपत्यका बाहिर छन् । उनी पछिल्लोपटक भुटान जाँदा रातो कार्पेट ओछ्याएर स्वागत पाएका थिए । त्यसबेला उनले भुटानका राजा रानीसहित राजपरिवारसँग भेटघाट गरेका थिए ।
त्यसक्रममा शाहले भुटानका पूर्वराजा अर्थात् बडामहाराज (हालका राजाका पिता) जिग्मे सिग्मे वाङचुकसँग पनि भेटवार्ता गरेका थिए । पूर्वराजा शाह र भुटानका पूर्वराजा जिग्मे भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठीसमेत हुन् ।
नेपाल र भुटानबीच मैत्रीपूर्ण र सद्भावनापूर्ण सम्बन्ध छ । त्यस्तै राजनैतिक सम्बन्ध पनि राम्रो छ । चुनौतीको विषयमा रहेको एउटै विषय हो– शरणार्थी प्रकरण ।
भुटानबाट सन् १९९० को दशकमा नेपाली भाषी भुटानी शरणार्थी नेपालमा आश्रय लिएर बसेपछि बेलाबेला यो विषयले दुई देशबीच केही तिक्त्तता भने नल्याएको होइन ।
नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भए पनि यो विषय अझै टुंगिएको छैन । जसकारण करिब १ लाख १३ हजार भुटानी शरणार्थी क्यानडा, अमेरिका, अस्ट्रेलियालगायत देशमा पुगे पनि झण्डै ६ हजारजना अहिले पनि झापाको बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन् ।
उनीहरू कहिले भुटान फर्किन पाउँछन् त्यो अझै टुंगो लागेको छैन । उनीहरूले भुटानी राजाले यसपटक शरणार्थी समस्या समाधानका लागि राजनीति भेटवार्ता गर्ने आशा राखेका थिए । तर, राजा वाङचुक भने कुनै भेट नगरी स्वदेश फर्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।