नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्स लगातार दुई खेलमा फराकिलो हार बेहोरेपछि केही दबाबमा थियो । पहिलो खेलमा चितवन राइनोजसँग ७४ रनमै अलआउट हुँदै ८७ रनको हार बेहोरेको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले पराजित भयो ।
सुरुवाती दुई खेलको लज्जास्पद हारले समर्थक, प्रशिक्षक र कप्तानमा चिन्ता थपेको पोखराले तेस्रो म्याचमा भने खेलका साथै दिल जित्यो ।
ह्याट्रिक हारबाट जोगिन ऊ रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी लायन्सविरुद्ध जित्नैपर्ने दबाबमा थियो । र, पोखराले लुम्बिनीविरुद्ध जित मात्र निकालेन अघिल्लो दुई खेलमा गुमाएको नेट रन रेटमा पनि सुधार गर्यो ।
के–के बने कीर्तिमान ?
पोखरा र लुम्बिनीबीचको खेलमा केही महत्वपूर्ण कीर्तिमान बनाए । यस खेलमा पोखराले १० विकेटको एकतर्फी जित दर्ता गर्यो । योसँगै ऊ एनपिएल इतिहासमा १० विकेटको जित निकाल्ने पहिलो टिम बन्यो ।
शुक्रबार भएको यस खेलमा लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा एक विकेट पनि नगुमाएर पूरा गर्यो ।
उसका लागि दक्षिण अफ्रिकीमूलका अमेरिकन ब्याटर आन्द्रेस गौसले शतकीय इनिङ खेले । उनले ५५ बलमा १२ चौका र पाँच छक्कासहित अविजित १ सय ४ रनको पारी खेलेका हुन् ।
योसँगै गौस एनपिएलमा शतक हिर्काउने पहिलो क्रिकेटर बने । यस्तै, उनले लुम्बिनीविरुद्ध सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने रेकर्ड पनि आफ्नो नाममा लेखाए । उनले २० बलमै अर्धशतक पूरा गरेका हुन् ।
योसँगै गौसले सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीको रेकर्ड भंग गरे । ऐरीले विराटनगर किंग्सविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए । यस्तै, शुक्रबार लुम्बिनीविरुद्ध पोखराका अर्का ओपनिङ ब्याटर दिनेश खरेलले पनि उत्कृष्ट इनिङ खेले ।
उनले ४६ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित ६१ रनको पारी खेलेका हुन् । दिनेश र गौसबीच पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी बन्यो ।
योसँगै अब उनीहरूले एनपिएलमा उच्च साझेदारी बनाउने रेकर्ड आफ्नो नाममा लेखाए । साथै गौस र दीनेशको जोडीले पावरप्ले अर्थात् सुरुवाती ६ ओभरमा सर्वाधिक ८० रन जोडे ।
छायाँमा रोहितको ९५ रन
लुम्बिनीले खेलमा पराजय बेहोरे पनि उसका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट इनिङ खेले । उनले ५९ बलमा १० चौका र ४ छक्कासहित ९५ रनको पारी खेलेका हुन् ।
ओपनिङ ब्याटर शून्यमै आउट भए पनि रोहितले भने विस्फोटक ब्याटिङ गरे । शतक बनाउन चुकेका उनी रनआउट भए । पहिलो खेलमा रोहितले २९ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाएका थिए ।
टिमले जितको खाता खोल्न नसके पनि उनी सर्वाधिक रन बनाउने मामलामा दोस्रो नम्बरमा छन् । रोहितले दुई खेलमा १४१ रन बनाएका छन् ।
खराब बलिङले दबाबमा लुम्बिनी
लुम्बिनीको टिम दुवै खेलमा खराब बलिङका कारण पराजित भयो । ऊ पहिलो खेलमा १९२ रनको लक्ष्य दिँदा पनि पराजित भएको थियो ।
दोस्रो खेलमा लुम्बिनीका बलर झन् खराब लयमा देखिए । अंकविहीन लुम्बिनी अहिले तालिकाको पुछारमा छ । तालिकाको शीर्ष स्थानमा जनकपुर बोल्ट्स छ । तीन खेलसम्म अपराजित उसले ६ अंक जोडिसकेको छ ।
यस्तै, दोस्रोमा सुदूरपश्चिम तेस्रोमा चितवन, चौथोमा कर्णाली, पाँचौंमा पोखरा, छैटौँमा काठमाडौं तथा सातौं स्थानमा विराटनगर रहेको छ । लिग चरणको सबै खेल सकिएपछि शीर्ष चारवटा टिमले प्लेअफमा स्थान बनाउने छन् ।
एनपिएलमा शनिबार पनि दुईवटा खेल हुने छन् । भोलि हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा कर्णाली याक्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।