logo-img

एनपिएलमा सुदूरपश्चिमको ह्याट्रिक जित, लुम्बिनीको लगातार तेस्रो हार

सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हरायो ।  

लुम्बिनीले भने पराजय यात्रा कायम राखेको छ । उसको यो लगातार तेस्रो हार हो । योसँगै ऊ एनपिएलमा लगातार तेस्रो खेल हार्ने पहिलो टिम बन्यो ।

आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।  



शीर्षक्रमका ब्याटर नचल्दा लुम्बिनीले फराकिलो हार बेहोरेको हो । उसका लागि युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ७७ रन बनाए ।

यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले तीन/तीन, स्कट कुग्लाइनले दुई र अविनाश बोहराले एक विकेट लिए ।  



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो ।



उसका लागि इङ्ग्लिस ब्याटर सैफ अली जैबले सानदार पारी खेले । उनले ६१ बलमा ६ चौका र ५ छक्कासहित ९० रनको पारी खेलेका हुन् ।  

यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरे । १९ बलको सामना गरेका ऐरीले चार चौका र दुई छक्कासहित अविजित ३९ रन जोडे ।  

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन बनाए ।   

लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई, कप्तान रोहितकुमार पौडेल र विवेक यादवले एक/एक विकेट लिए । यो जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

उसले तीन खेलबाट ६ अंक जोडिसकेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रन तथा दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । 

अंकविहीन लुम्बिनी भने तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । 

  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया