चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा चितवनले आइतबार सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हरायो ।
सुदूरपश्चिमको अपराजित यात्रामा भने ब्रेक लागेको छ । आफ्नो चौथो खेलमा चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १ सय ३३ रनमै अलआउट भयो ।
उसका लागि इशान पाण्डेले ३५, सैफ जैबले १८, स्कट कुग्लाइनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रीत बाज्वाले १२ र नरेन साउदले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
चितवनका लागि रिजन ढकाल, कुशल मल्ल, जोन निकोल लोफ्टी इटन र अमर सिंह रौटेलाले दुई/दुई तथा रञ्जित कुमार र सोहेल तनवीरले एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
उसका लागि ओपनिङ ब्याटर हसन इसाखिलले अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ६ चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए ।
यस्तै, रवि बोपाराले ३६, विपिन रावलले १७ र कुशल मल्लले १३ रन जोडे । सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले दुई, ब्रान्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ जैबले एक/एक विकेट लिए ।
यो जितपछि चीतवन अंक तालिकाको तेस्रो स्थानमा छ । उसले चार म्याच खेल्दा तीनमा जित तथा एक खेलमा मात्र हार बेहोरेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पनि तीनमा जित र एक खेलमा हारको सामना गरेको छ । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।