logo-img

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, के भयो कुराकानी ?
‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग निरन्तर रहन्छ’

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित आफ्नो निवासमा भएको ​भेटमा प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्‌भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताए ।

‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौँ’, उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’



नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिकरूपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए ।



‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रूपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुङ्ग्याउँदै छौँ, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो’, उनले भने, ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरू संवेदनशील रहेको बताए । 



प्रचण्डसँगको भेटमा अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरूका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए ।

उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । 

लुलेले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभइ अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा छन् । उनको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ । लुले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।  

बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको थियो ।   

  • प्रकाशित मिति : मंसिर २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया