logo-img

लुम्बिनी र विराटनगरको प्लेअफ यात्रा कठिन, के छ अरू टिमको अवस्था ?

नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को १५ वटा खेलको नतिजा आइसकेको छ । यो अवस्थासम्म जनकपुर बोल्ट्स मात्र अपराजित छ । ऊ चौथो खेलसम्म आइपुग्दा अपराजित रहेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै सानदार सुरुवात गर्‍यो । उसले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेटकै जित दोहोर्यायो । जितमा ह्याट्रिक गर्नेक्रममा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध ७ विकेटको सानदार जित निकाल्यो ।

उच्च लयमा रहेको जनकपुरले चौथो खेलमा आइतबार लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गर्‍यो । यो जितपछि उसले तालिकामा चार खेलबाट ८ अंक जोडिसकेको छ । जनकपुरले अब एउटा खेल जिते प्लेअफको यात्रा सुरक्षित गर्नेछ । जनकपुरले अझै तीनवटा म्याच खेल्न बाँकी छ । 



यस्तै, अहिले तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको प्लेअफ सम्भावना पनि बलियो छ । उसले अहिलेसम्म चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हारको सामना गरेको छ ।

सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराउँदै लिगमा विजयी सुरुवात गरेको थियो । उसले दोस्रो र तेस्रो खेलमा क्रमशः काठमाडौं गुर्खाजलाई ७३ रन तथा लुम्बिनीलाई ४५ रनले हरायो ।



चौथो खेलमा भने सुदूरपश्चिम चितवन राइनोजविरुद्ध ३३ रनले स्तब्ध भयो । यो हारपछि सुदूरपश्चिमले चार खेलबाट ६ अंक जोडेको छ । अब दुई खेल जितेमा उसले ढुक्कका साथ प्लेअफको यात्रा गर्नेछ । 



यस्तै, चितवन राइनोज पनि प्लेअफ दौडमा छ । उसले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हार बेहोरेको छ । अहिले तेस्रो स्थानमा रहेको चितवनले अन्तिम चारमा स्थान बनाउने बाँकी तीनमध्ये दुईवटा खेलमा जित हात पार्नुपर्नेछ ।

अहिले चौथो स्थानमा रहेको कर्णालीले प्लेअफको यात्रा गर्न बाँकी तीनवटै खेलमा जित निकाल्नुपर्ने समीकरण बनेको छ । उसले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार बेहोरेको छ । 

दुई/दुई अंक जोडेको पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज पनि प्लेअफ दौडमा कायमै छन् । यी दुई टिमले तीन/तीन म्याच खेल्दा समान दुईमा हार तथा दुई खेलमा पराजय बेहोरेका छन् । पोखरा र काठमाडौंले बाँकी चारवटै खेलमा जित निकाल्न सके प्लेअफको यात्रा गर्न सक्छन् ।

अंक तालिकाको सातौं स्थानमा रहेको सन्दीप लामिछाने नेतृत्वको विरानगर किंग्सको प्लेअफ यात्रा भने कठिन छ । यदि अन्तिम चारमा स्थान बनाउने हो भने उसले बाँकी तीनवटै खेलमा जित निकाल्नुपर्नेछ । साथै, प्लेअफमा स्थान बनाउन विराटनगरले अरू टिमको भर पर्नुपर्ने समीकरण बनेको छ । 

उता लगातार चार खेलमा हार बेहोरेको लुम्बिनीको भने प्लेअफ यात्रा लगभग समाप्त भएको छ । उसले अब तीन म्याच खेल्न बाँकी छ । तीनवटै खेलमा जित निकाले पनि लुम्बिनीको ६ अंक मात्र हुनेछ ।

त्यो अंक प्लेअफका लागि काफी हुने छैन । किनकी लुम्बिनीले एक म्याच नजित्दै तीन टिमसँग ६ वा सोभन्दा माथि अंक भइसकेको छ । यसरी हेर्दा लुम्बिनी र विराटनगरको यात्रा निकै कठिन रहँदा बाँकी ६ वटा टिम भने प्लेअफ दौडमा कायमै छन् ।  

  • प्रकाशित मिति : मंसिर २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया