logo-img

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीको घुइँचो, ६० प्रतिशत श्रद्धालु भारतीय

भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगे । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । 

‘केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजा अर्चना गर्न आएका हौँ’, दर्शनार्थी यादवले भने, ‘परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरूको उल्लेख्य मात्रामा हुनुहुन्छ ।’

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताए ।



‘विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ’, उनले भने, ‘सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरू उपस्थिति हुने अपेक्षा राखेका छौं ।’ जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दर्शनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भिडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ । 



कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरू ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।  



  • प्रकाशित मिति : मंसिर २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया