सत्तारूढ नेपाली कांग्रेस पछिल्लो समय १५औँ महाधिवेशनलक्षित गतिविधिलाई तीव्रता दिइरहेको छ । महाधिवेशनलाई लिएर संस्थापन समूह र संस्थापन इतर समूह भिन्नाभिन्नै कार्यक्रम र सभा गरिरहेका छन् । पार्टीभित्रका आन्तरिक कलह सार्वजनिकरूपमै छरपस्ट भइरहेका छन् ।
महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र गुटगत मत भिन्नता र समानान्तर गतिविधि हुन थालेका छ । कोशी प्रदेशमा देखिएको पछिल्लो घटनाक्रम यसैको उदाहरणको रूपमा लिइएको छ ।
कांग्रेसले २२ मंसिरमा कोशी प्रदेशका पार्टी सभापतिहरूको सम्मेलन विराटनगरस्थित बरगाछी एक पार्टी प्यालेसमा बोलायो । उक्त सम्मेलनमा संस्थापन इतर समूहका डाक्टर कोइराला भने अनुपस्थित भए । सम्मेलनको केही दिनअघि अर्थात् १८ गते पार्टीको इतर समूहले विराटनगरमै कांग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१ आयोजना गर्यो । संस्थापन इतर समूहको नेतृत्व गरिरहेका कोइराला समूहले उनकै प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई धेरैले शंकाकै रूपमा हेरेका छन् ।
कार्यक्रम सुरु हुनुअगावै केन्द्रले परिपत्र गर्दै शेखर समूहको भेलालाई रोक्न प्रयास गरेको थियो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर निर्देशन पठाउँदै ‘भेला नगर’ भन्ने घुमाउरो चेतावनी दिएका थिए । यसरी विवादका बीच इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरिछाड्यो ।
डा. शेखरले उद्घाटन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ मध्ये १ सय १३ जना पालिका सभापतिको उपस्थिति रहेको उक्त समूहको दाबी छ, जसलाई अझै पनि केन्द्रले अवैधानिक भेलाको संज्ञा दिइरहेको छ ।
त्यसो त पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका शेखरसँगै उनकै समूहबाट महामन्त्री बनेका गगन थापाले पनि पार्टी सभापति बन्ने तयारीमा रहेको चर्चा भइरहेको छ । यही विषयलाई लिएर शेखर–गगनबीच दूरी बढेको धेरैको अनुमान छ । जुन सतहमै देखिने गरेको छ । जसको पछिल्लो उदाहरण हो, कांग्रेसको पहिलो कोशी प्रदेश भेलालाई शेखरले बहिष्कार गर्नु र महामन्त्री गगन उपस्थित हुनु ।
शनिबार विराटनगरमा भएको कोशी भेलामा सभापति शेरबहादुर देउवापछिको वरीयता नपाएपछि शेखरले आफ्नै प्रदेशमा भएको भेला बहिष्कार गरे । तर, सभापति देउवाले उद्घाटन गरेको भेलामा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकसँगै गगन पनि सहभागी भए ।
शेखर विभिन्न जिल्ला पुगेर त्यहाँको अवस्था बुझिरहेका छन् । १४औँ महाधिवेशन दोस्रो चरणमा गएर सभापति पराजित शेखर १५औँ महाधिवेशनमा जसरी पनि निर्वाचित हुन चाहन्छन् । तर, १४औँ महाधिवेशनमा सँगै रहेका गगन छुटिँदा उनलाई सकस हुने देखिन्छ । यस्तै, गगन पनि आफ्नो शक्ति बलियो बनाउनका कार्यकर्तादेखि माथिल्लो तहका नेतासँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइराला उठेका थिए । शेखर कोइरालाका धारबाट उठेका गगन महामन्त्रीमा जिते । शेखर कोइराला हारे ।
अघिल्लो महाधिवेशनमै शेखर कोइरालाले ‘यस पटक, एकपटक मात्रै’ भन्ने नारा लिएर सभापतिमा उठेका थिए । त्यही भएर गगनले शेखरको टिमबाट महामन्त्री लड्ने र आसन्न १५औँ महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका हुन् । र, यो पटक पुनः शेखर म पार्टी सभापति लड्छु भनेर आफैँ तयारी थालेका छन् । सोही कारण एउटै टिम फुटेर अलग–अलग भएको जस्तो देखिएको गगननिकट एक नेता बताउँछन् ।
सभापतिका लागि देउवालाई विधानको अड्चन
१५औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुने छैनन् । विधानले पनि तेस्रो कार्यकालको परिकल्पना गरेको छैन र देउवा आफैंले पनि उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसमा भावी नेतृत्वमा नयाँ अनुहार आउने निश्चित छ । सभापति देउवा मैदानमा नआउने भएपछि भावी नेतृत्व मध्यनजर गरेर कांग्रेसका परम्परागत समूहका ठाउँमा नयाँ समीकरणको प्रयास देखिन थालेको छ ।
कांग्रेस विधानको धारा ५७ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन’ भन्ने व्यवस्थाले देउवा आफैँ मैदानमा उत्रिने छैनन् । ०७८ मंसिरमा १४औँ महाधिवेशन भएको कांग्रेसको नियमित १५औँ महाधिवेशन ०८२ मा हुनुपर्ने हुन्छ । असाधारण परिस्थितिमा महाधिवेशन एक वर्ष बढाउने कांग्रेस विधानको व्यवस्था छ । यसो गर्दा पनि ०८४ को चुनाव कांग्रेस नयाँ नेतृत्वका साथ लड्ने निश्चित छ ।
गगन–शेखरबीच प्रतिस्पर्धाको सम्भावना
देशभरका कार्यकर्तामाझमा पार्टी सभापति र महामन्त्री मिल्दैनन् भने यस्तो पार्टीले जनताका मुद्धालाई कसरी समेट्छ भनेर गलत सूचना प्रवाह हुने भएकाले पार्टी संगठनलाई मजबुत बनाउने र पार्टीलाई तल्लो तहसम्म बलियो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने सन्दर्भमा देउवा र गगनबीच समझदारी भएको हुनसक्ने धेरैको आँकलन छ ।
गगनलाई देउवाको सहयोग, असहयोग जे भए पनि थापा पार्टी सभापतिमा लड्ने निश्चित रहेको राजनीतिक विश्लेषक सुदर्शन आचार्य बताउँछन् । उनी भन्छन्, ‘गगन थापाले पार्टी सभापतिलाई बलियो बनाउने र अर्कोतर्फ संसदीय पद्धतिलाई पनि बलियो बनाउने गरी काम गरिरहेका छन् । शेखर पनि शक्ति आर्जनका लागि कार्यकर्तामाझ गएको देखिन्छ । यसरी हेर्दा महाधिवेशनमा शेखर र गगनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।’
उनका अनुसार संसारमा जहाँ पनि सम्झौता भनेको शक्ति निर्माण हो । सोही कारण गगनले तल्लो तहबाटै शक्ति निर्माण गर्नसके भने देउवाले गगनलाई साथ दिने सम्भावना धेरै रहेको छ । सम्भवतः शेखर र गगनबीचमा प्रतिस्पर्धा हुने विश्लेषक आचार्यको भनाइ छ ।
धेरै अहिले देउवाले गगनलाई साथ दिने अनुमान लगाइरहेका छन् । तर, अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै एक्ला नेता होइनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत, पूर्णबहादुर खड्कालगायत छन् । र, प्रकान्तरले देउवाले समर्थन गर्ने पनि यिनीहरूमध्ये एक हुनेमा पक्काजस्तै छ ।
जनताका हक, अधिकारका लागि स्थापना भएको कांग्रेसमा अहिले नयाँ पुस्ताको आगमन भएको छ । नयाँ पुस्तामा कोही बढी उमेरका छन् भने कोही कम उमेरका छन् । पार्टीभित्र धेरैलाई उमेरहदको छेकवार छ । यसपटक पार्टीको सभापति भएन भने के हुन्छ, उमेरले पनि साथ दिँदैन भन्ने भय नेतामा रहेको कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर बताउँछन् ।
‘पार्टी सभापति बन्ने र कांग्रेस तथा देशलाई चलाउने योजना बनाएर धेरै नेता लागिरहेका छन् । त्यसकारण हिजो हामीले देखेको गुट छैन र रहँदैन पनि । यहाँ आफू बन्नका लागि गुट निर्माण भइरहेका छन्,’ उनी भन्छन्,’ उनी भन्छन्, ‘म राम्रो बनेर कांग्रेस बलियो बनाउँछु र देश राम्रो बनाउँछु भन्ने राजनीतिभित्र सोच छ । गुटको प्रबन्ध यसपटक ब्रेक हुन्छ । आफ्नो अनुकूल र आफ्नो सेक्युरिटीका आधारमा गुट चल्ने हो । महाधिवेशनमा संस्थापन पक्ष, संस्थापन इतर पक्ष देखिएपनि सबै आफू बलियो हुनको लागि लागिपरेका छन् ।’
उनका अनुसार नेताहरू कम्तीमा आफूलाई केन्द्रविन्दुमा राखेर म बलियो कसरी हुने भन्ने लागेका कारण हरेक तीन/तीन महिनामा कांग्रेसभित्र समीकरण परिवर्तन भइरहेका छन् । महाधिवेशन आउन अझै समय रहेकाले उम्मेदवार को हुन्छ र के हुन्छ भनेर अहिले नै आँकलन नसकिने उनको भनाइ छ ।
हुन त कांग्रेसमा महाधिवेशनहरूमा प्रायः नयाँ गुटहरू बन्ने गरेका छन् । १५औँ महाधिवेशनमा पनि यो सम्भावना रहने गगन निकटस्थ नेताहरूको छ । नाम उल्लेख नगर्ने सर्तमा गगन निकट एक नेताले भने, ‘१५औँ महाधिवेशनमा पनि नयाँ गुट बन्न सक्छ । यो सम्भावना कायमै रहन्छ ।’
जे होस्, १५औँ महाधिवेशनमा शेखर र गगन सभापतिका मुख्य प्रतिस्पर्धी बन्ने सम्भावना भने यथावत् नै रहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।