नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धि मूलक भएको निष्कर्ष निकालेको बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ नेता ज्ञवालीले भने, ‘सत्तामा रहेका दुई पार्टीबीचमा जुन खालको समझदारी भएको छ । त्यसले बीआरआईलाई निष्कर्षमा पुर्याउन भूमिका खेलेको छ ।’
नेता ज्ञवालीले बीआरआईमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र बाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताए । उनले हालै भएको चीन र नेपाल पक्षबीच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्वयन गर्नमा पार्टीले जोड दिएको बताए ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गरेका थिए । उनले बीआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको बताए । नेपालजस्तो देशले संसारको दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौ अर्थतन्त्र भएको भारतसहित अरू विकसित देशसँग जोडिएर अगाडि बढ्न सक्ने उनले बताए । उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरता पूर्वक लिएको बताए ।
‘उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ । हामीले एउटा अध्यक्ष दुई वटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ तर यति हुँदाहुँदै पनि परिणामलाई गम्भीर रूपमा लिएका छौँ,’ उनले भने, ‘खासगरी कीर्तिपुर नगरपालिका, त्यहाँका वडा र काठमाडौं महानगरपालिका-१६ मा जस्ता शहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिमाण नआएकाप्रति हामी गम्भीर पनि भएका छौँ ।’
उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताए । सामाजिक सञ्जाल दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कुराको पार्टी पङ्क्तिलाई प्रतिवाद गर्न आग्रह गरिएको छ ।
उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिसइन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलबल्याउने जस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।