अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज रास्वपाका नेताहरुसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।
निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारी समेतले न्याय निरुपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको थियो ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।