काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा उपाधि दाबेदार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकअर्काको सामना गरे ।
समर्थकका लागि यी दुई टिमबीचको खेल बहुप्रतिक्षित थियो । किनकी जनकपुर र सुदूरपश्चिम अंक तालिकाको पहिलो र दोस्रो स्थानका टिम हुन् ।
सोही कारण बुधबार सार्वजनिक बिदा नभए पनि बिहानैदेखि टियू मैदान दर्शकले भरिभराउ थियो । उच्च लयमा रहेका यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुनेमा समर्थक आशावादी थिए । तर, ‘लो स्कोरिङ’ म्याचमा सुदूरपश्चिमले ७२ रनको एकतर्फी जित निकाल्यो ।
टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्यो । उसका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३३ रन जोडे ।
यस्तै, सैफ जैबले २१, इशान पाण्डेले १७ तथा ब्रान्डन म्याकमुलेनले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन दिएर सर्वाधिक चार विकेट लिए ।
१ सय २४ रनको लक्ष्य सहजै पूरा गर्नेमा जनकपुर विश्वस्त थियो । तर, उसले समर्थक चकित पार्ने तरिकाको ब्याटिङ गर्यो । सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भयो । योसँगै उसले एनपिएलमा कम स्कोरमा अलआउट हुने खराब कीर्तिमान बनायो ।
यसअघि कम स्कोरमा अलआउट हुने रेकर्ड पोखरा एभेन्जर्सको नाममा थियो । ऊ चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याउनेक्रममा ७४ रनमै अलआउट भएको थियो ।
पोखराको खराब कीर्तिमान चार खेलसम्म अपराजित रहेका जनकपुरले दुई सातापछि तोड्यो । आफ्नो पाँचौं खेलमा जनकपुरका लागि जोसुआ ट्रोमले १३ बलमा सर्वाधिक १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
जनकपुरलाई पहिलो हारको स्वाद चखाउनेक्रममा सुदूरपश्चिमका लागि इशान पाण्डे, हरमित सिंह र कप्तान दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा सैफ जैब, नरेन साउद र स्कट कुग्लाइनले एक/एक विकेट लिए ।
सुदूरपश्चिमले देखाएको ‘तुफान’
जारी एनपिएलमा सुदूरपश्चिमले ‘सुदूरको सान, मैदानमा तुपान’ को नारालाई यथार्थमा परिणत गरिरहेको छ । उसले प्रायः खेलमा एकतर्फी जित निकालिरहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै ९० रनको जित निकाल्यो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले सानदार प्रदर्शन गर्यो ।
उक्त खेलमा उसले काठमाडौं गुर्खाजलाई ९४ रनमा अलआउट गरेर ७३ रनको जित निकाल्यो । तेस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै जितमा ह्याट्रिक गर्यो ।
चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजसँग ३३ रनको पराजय बेहोर्यो । छैटौँ खेलमा सानदार कमब्याक गर्दै उसले जनकपुरविरुद्ध ७२ रनको फराकिलो जित निकाल्यो ।
यो सानदार जितले सुदूरपश्चिम नेट रन रेट राम्रो हुँदा तालिकाको शीर्ष स्थानमा उक्लियो । उसले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा हार बेहोरेको छ ।
जनकपुरको अपराजित यात्रामा पूर्णविराम
जारी सिजनमा जनकपुर बोल्ट्स लगातार चार खेल जित्ने पहिलो टिम हो । उसले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो । यस्तै, जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेटकै जित दर्ता गर्यो ।
जितमा ह्याट्रिक गर्नेक्रममा तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो । चौथो खेलमा उसले लुम्बिनीविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्यो । पाँचौं खेलमा भने निकै खराब ब्याटिङ गरेको जनकपुर सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार बेहोर्यो ।
यो हारका कारण जनकपुरले दुई खेलअगावै प्लेअफमा स्थान बनाउने मौका गुमायो । ऊ अहिले पाँच खेलबाट ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
सुदूरपश्चिम र जनकपुरले एक खेलमा जित निकालेमा प्लेअफको टिकट सुरक्षित गर्ने छन् । यी दुई टिमले अब दुई/दुई म्याच खेल्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।