logo-img

‘हतियारमा धार : जीविकोपार्जनको आधार’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन् । ४० किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो । 

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बताए । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए ।  

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए । 

खाना खर्च कटाएर दैनिक सात सय रुपैयाँ जति बचत हुने गरेको उनी बताउँछन् । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । 



‘घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनी भन्छन्, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।’ 

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । ‘कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन् ।’  





  • प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया