पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा १ सय १ रनमा अलआउट भयो ।
उसका लागि जेरार्ड इरास्मसले २०, कप्तान करण केसीले १९ तथा ओपनर स्टीफन एस्किन्जीले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशीले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर तीन विकेट लिए । यस्तै, शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर तीन विकेट नै हात पारे ।
त्यस्तै, मोहम्मद मोहसिनले दुई तथा किशोर महतो र अरनिको यादवले एक/एक विकेट लिए । जारी सिजनमा जनकपुरले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।
यदि आजको खेल जितेमा उसले एक खेल अगावै प्लेअफको यात्रा गर्नेछ । जनकपुर अहिले ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
काठमाडौंले अहिलेसम्म चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । ऊ अहिले चार अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।