logo-img

टियू मैदानमा देखिन छाड्यो ठूलो स्कोर : बलर उत्साहित, ब्याटर तनावमा [भिडियोसहित]
‘पिचले आराम नपाउँदा ब्याटरलाई रन बनाउन कठिन’
तस्बिर : क्यान

काठमाडौंमा हाल क्रिकेट पर्व अर्थात् पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) चलिरहेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको लिगको आधा सिजनभन्दा बढी सकिसकेको छ ।

अहिलेसम्म समर्थकले प्रायः ‘लो स्कोरिङ’ म्याच हेरेर आनन्द उठाइरहेका छन् । प्रतियोगिताको २१ वटा खेलको नतिजा आउँदा कुनै पनि टिमले २ सय रनभन्दा माथिको लक्ष्य दिन सकेका छैन ।

लिग चरणको सातवटा खेल बाँकी रहँदा उच्च स्कोर बनाउने रेकर्ड विराटनगर किंग्सको नाममा छ । उसले लुम्बिनी लायन्सविरुद्ध १ सय ९२ रनको लक्ष्य पछ्याउनेक्रममा १९.५ ओभरमा १ सय ९३ रन बनाएको थियो । त्यसयता भने कुनै पनि टिमले १ सय ९० प्लसको स्कोर बनाउन सकेका छैन । 



पछिल्लो दिनमा त टिमहरूलाई १५० रन पनि कटाउन महाभारत भइरहेको छ । पिचको व्यवहार परिवर्तन भएसँगै दर्शकले चौका/छक्काको वर्षा पनि देख्न पाएका छैनन् । साथै, रन बनाउन नसक्दा ब्याटर पनि तनावमा छन् ।

नयाँ मात्र होइन विश्व चर्चित ब्याटर पनि टियूको पिचमा संघर्ष गरिरहेका छन् । पिचको ताजा कन्डिसनले बलर भने उत्साहित देखिन्छन् । विशेषगरी अहिले स्पिन बलर ब्याटरमाथि हाबी देखिएका छन् । सर्वाधिक विकेटकर्ताको सूचीमा पनि स्पिनर अगाडि छन् ।



अहिलेसम्म जारी एनपिएलका सर्वाधिक विकेट लिने सूचीको पहिलो स्थानमा जनकपुर बोल्ट्समा आबद्ध स्पिनर ललितनारायण राजवंशी रहेका छन् । उनले ६ खेलमा ५.३३ को इकोनमीमा ११ विकेट लिएका छन् ।   



टी–२० प्रारूपको प्रतियोगितामा प्रायः रनको वर्षा देख्न पाइन्छ । सोही कारण पनि समर्थकको पहिलो रोजाइमा हाल यो फर्म्याट पर्दै आएको छ । तर, पछिल्लो समय चौका/छक्का खासै देख्न नपाइएपछि टियू मैदान पुगेका समर्थक त्यति उत्साहित छैनन् ।

यद्यपि ‘लो स्कोरिङ’ म्याचमा  पनि रोमाञ्चक दृश्य भने देख्न पाइरहेका छन् । एनपिएलअन्तर्गत बिहीबार मात्र विराटनगर किंग्स र पोखरा एभेन्जर्सको खेल ‘सुपर ओभर’ मा धकेलियो, जहाँ पोखराले बाजी मार्‍यो ।    

ब्याटरका लागि किन प्रतिकूल बन्यो टियूको पिच ? 

टियूको पिचमा ठूलो स्कोर बन्न छाडेपछि विभिन्न प्रश्न उठ्न थालेका छन् । समर्थकले पिच बिग्रिएर ब्याटिङका लागि कठिन भइरहेको विश्लेषणसमेत गर्न थालेका छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य तथा विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरी भने पिचले आराम नपाउँदा ब्याटरलाई रन बनाउन कठिन भइरहेको बताउँछन् ।

‘त्रिवि मैदानमा निरन्तर म्याच भइरहेका छन्, एकैदिन दुईवटा खेल हुँदा पिचले आराम पाइरहेको छैन । विकेटमा सुरुमै घाँस कम थियो । त्यहीबीचमा लगातार खेल भए । सोही कारण पनि यस पिचमा ब्याटरलाई रन बनाउन कठिन भइरहेको छ,’ फरकधारसँगको कुराकानीमा पूर्वखेलाडी चौधरीले भने, ‘अझै लिगको केही खेल बाँकी छन्, अहिलेको पिचको अवस्था हेर्ने हो भने आगामी खेलमा ब्याटरलाई थप गाह्रो हुन सक्छ ।’ 

दीपेन्द्र चौधरी

त्रिवि क्रिकेट मैदानमा हाल ८ वटा पिच छन् । एनपिएलअघि ती पिचलाई बंगलादेशी एक्सपर्ट क्युरेटरको सहायतामा राम्रो बनाएको क्यानको दाबी थियो । तर, अहिलेको अवस्थामा भने टियूको पिचले क्यानको दाबीअनुसारको व्यवहार देखाइरहेको छैन ।  

  • प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया