logo-img

जनकपुर बोल्ट्स बन्यो एनपिएलको प्लेअफ पुग्ने पहिलो टिम

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकाल्दै जनकपुरले प्लेअफको यात्रा गर्‍यो । ऊ एक खेलअगावै प्लेअफमा पुगेको हो ।  

आफ्नो छैटौँ खेलमा काठमाडौंले दिएको १ सय २ रनको सामान्य लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि जेम्स नीशमले २७, हर्ष ठाकरले अविजित २५, लाहिरु मिलान्थाले १६, मोहम्मद मोहोसिनले अविजित १३ तथा कप्तान अनिलकुमार साहले ११ रन जोडे ।

काठमाडौंका लागि कप्तान करण केसीले दुई तथा शाहब आलम, दीपेश कँडेल र जेरार्ड इरास्मसले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा १ सय १ रनमा अलआउट भयो ।



उसका लागि जेरार्ड इरास्मसले २०, कप्तान करण केसीले १९ तथा ओपनर स्टीफन एस्किन्जीले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशीले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर तीन विकेट लिए । यस्तै, शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर तीन विकेट नै हात पारे ।   



त्यस्तै, मोहम्मद मोहसिनले दुई तथा किशोर महतो र अरनिको यादवले एक/एक विकेट लिए । यो जितपछि जनकपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।

काठमाडौंले अहिलेसम्म पाँच म्याच खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ अहिले चार अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।   



  • प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया