अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्गको रूपमा बुझ्नलाई आग्रह गरेका हुन् ।
उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रूपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्ग हो । महत्त्वपूर्ण कडी हो भन्ने राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसायको रूपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रूपमा म सम्मान गर्न चाहन्छु ।’
उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ, त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
उनले भने, ‘अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु पर्यो । र, यो छिटो कार्यान्वयनमा आउनुपर्यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।’
अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा घर जग्गा कारोबारमा आएको सङ्कुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।