मष्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जोकोहीका लागि ठूलो समस्या बन्दै गएको छ । एउटा व्यक्ति स्वस्थ हुनका लागि उसको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ ।
मानसिक रूपमा स्वस्थ हुनका लागि शारीरिक रूपमा पनि स्वस्थ हुन आवश्यक हुन्छ । यसका साथै मानिस सामाजिक रूपमा पनि स्वस्थ हुनुपर्छ । हाम्रो नेपाली समाजमा मानसिक स्वास्थ्यलाई लिएर धेरै नकारात्मक धारणा रहेको पाइन्छन् । मानसिक स्वास्थ्यसम्बन्धी समाजमा व्याप्त रहेको त्यो धारणालाई परिवर्तन गर्न आवश्यक छ ।
मानसिक स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषय अन्तर्गत रहेर मनोचिकित्सक अरविन्द भूसालसँग गरिएको कुराकानी :
मानसिक स्वास्थ्य भनेको के हो ?
हामीमा आउने विचारले हाम्रो मन कस्तो हुन्छ र कस्तो व्यवहार गर्छौ यही सेरोफेरोमा मानसिक स्वास्थ्य घुमिरहेको छ । मानिसको शरीरका विभिन्न अङ्गको आ–आफ्नै महत्त्व छ र ती अङ्गहरूले छुट्टाछुट्टै काम गर्छन् ।
शरीरका अङ्गमध्ये मस्तिष्क महत्त्वपूर्ण भाग हो । मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ । जसरी फोक्सोमा निमोनिया र टिबीजस्ता रोग लाग्छन्, कलेजोमा खराबी भएर कमलपित्त लाग्छ, त्यसै गरी, मष्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन् । त्यसरी लाग्ने रोगहरूले मष्तिष्कमा मात्र असर गर्दैनन्, हाम्रो मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्छन् । फलस्वरूप मानसिक रोग देखा पर्छ ।
मानसिक रोग हुँदा कस्ता लक्षण देखा पर्छन् ?
यो समस्या व्यक्ति तथा परिवारका सदस्यले अनुभव गर्छन् । मानसिक रूपमा अस्वस्थ व्यक्तिमा आफ्नो भावनाअनुसार केही काम भइरहेको हुन्छ, त्यो काममा के होला, कसो होला भन्ने मनोचिन्ताले दिमागमा सधैँ तनाव सिर्जना गरिरहेको हुन्छ ।
जति बेला पनि आफूलाई असुरक्षित महसुस हुने, आफू जोखिममा रहेको जस्तो केही छैन अब भनेको जस्तो अनुभव गर्न सक्छन् । जस्तै, हडबडाएको जस्तो हुने, आत्तिएको जस्तो हुने गर्छ । अनावश्यक तथा भ्रमित कुरामा बढी चिन्तित रहने हुन्छन् । यस्तै, उनीहरूमा निद्रा नलाग्ने, बेचैन हुने, तनाव महसुस भइरहने, ढुकढुकी बढ्ने, पेट असहज हुने, टाउको दुख्ने, एकै ठाउँ बस्दा निसास्सिएको जस्तो हुने गर्छ । सबैलाई एउटै किसिमको लक्षण देखा पर्छ भन्ने हुँदैन, कसैलाई कुनै त कसैलाई कुनै लक्षण देखा पर्ने सम्भावना धेरै हुने गर्छ ।
मानसिक रोग निम्तिनुका कारण के हुन् ?
मानसिक स्वास्थ्य समस्या विभिन्न कारणले निम्तिन सक्छ । जसमध्ये मुख्य कारक तत्त्वहरू गरिबी, वंशाणुगत, बालापन कस्तो वातावरणमा बित्यो, सामाजिक विकृतिहरू, तनावग्रस्त जीवनशैली, टाउकोमा घाउ वा चोटपटक लागेमा, मादक पदार्थको सेवन, लागु औषधको प्रयोग, राजनीतिक कारण एक्लोपन रहेका छन् ।
को–को हुन्छन् जोखिममा ?
धेरै मानिसहरूको बुझाइ छ, मानसिक रोग कमजोरलाई हुन्छ तर यो सत्य होइन । मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन । हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् । त्यसैले, मनोरोग र मनोरोगीलाई हल्का रूपमा नलिई गम्भीरता आवश्यक छ । मानसिक रोग सामाजिक, अनुवांशिक, जैविक वातावरणीय वा मनोवैज्ञानिक धेरै कारणले हुन सक्छ ।
नेपालमा कस्ता मनोरोग अत्यधिक मात्रामा देखिरहेको छ ?
नेपालमा एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिमा आएको मानसिक समस्या हो । अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनअनुसार हरेक पाँच जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मनोरोग पाइने गरेको छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । यसबाट छुटकारा पाउन कुनै पनि खालको उपचारात्मक पद्धतिकै आवश्यकता हुने गर्छ ।
मनोरोग मानसिक स्थितिसँग सम्बन्धित भएकाले सामान्य हिसाबमा कोही मनोरोगी हिंसात्मक हुन सक्छन् । अरूलाई मात्रै होइन, आफैमाथि पनि हिंस्रक हुन सक्ने हुँदा मनोरोगीको विशेष हेरचाह अत्यावश्यक छ । तर यसो भन्दैमा मनोविकार भएका व्यक्तिहरू सधैँ हिंस्रक नै हुन्छन् भन्ने पनि होइन । मनोरोगीहरूको हिंसात्मक क्रियाकलाप रोगका कारणले हुन्छ भन्ने पनि होइन, यसमा उनीहरूले कस्तो उपचार र व्यवहार पाउँछन् भन्नेमा पनि निर्भर रहन्छ । कुनै मनोरोगी आफैँमा गुमसुम रहने निकै शान्त स्वभावका पनि हुन्छन् ।
मनोरोगको उपचार कसरी गरिन्छ ?
कुनै पनि रोगको उपचार सम्भव भएजस्तै मानसिक रोगको पनि उपचार छ । समयमै रोगको सही ढंगले पहिचान गर्न सकियो भने मानसिक रोगी पूर्ण रूपमा निको हुन सक्छन् । सामान्य अवस्थाका मानसिक रोगीहरूले उनीहरूको आफ्नो इच्छा र क्षमताका आधारमा जुनसुकै काम गर्न सक्छन् । यसले उनीहरूको अवस्था सुधार गर्न पनि सहयोग गर्छ ।
धेरै मनोचिकित्सक यस मामिलामा थेरापी र मनोपरामर्श दिन्छन् । केही केसमा औषधि पनि चाहिन्छ । तर थेरापी र परामर्श नै बिरामीको अवस्था सुधार गर्न प्रमाणिक भएको पाइन्छ । राम्रो र स्वच्छ वातावरणमा बसेर तनाव नलिई जीवनयापन गर्न सकियो भने मानसिक रोगी भइन्न ।
तोकेको अवधिसम्म औषधि सेवन गर्नुपर्छ। आफ्नो मन खुसीले औषधि छाड्दा निको हुँदैन वा चारदेखि पाँच महिनापछि रोग पुनः बल्झिन सक्ने सम्भावना धेरै हुन्छ ।
मानसिक रूपमा कसरी स्वस्थ रहने ?
मानसिक रूपमा स्वस्थ रहन तनावरहित जीवनशैली अपनाउनुपर्छ । अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच्ने बानीलाई त्याग्नुपर्छ । पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा साबित भएका छन् तिनमा विश्वास गर्नुहुँदैन । हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्नुपर्छ । यसका साथै पछिल्लो समय युवाहरू दुर्व्यसनमा फसेको देखिन्छ । यसबाट पनि मनोरोग निम्तिने सम्भावना धेरै हुँदा लागू पदार्थ, रक्सी, ड्रग्स सेवनबाट टाढै बस्नुपर्छ ।
स्वस्थ खानपान तथा शारीरिक व्यायाममा बढी जोड दिने गर्नुपर्छ । आफूमा केही समस्या भए अथवा आफ्ना समस्या आफ्नो परिवार, साथीभाइमाझ भन्ने गर्नुपर्छ । जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ । मनलाई सधैँ शान्त राख्ने कोसिस गर्नुपर्छ । जीवनलाई आध्यात्मिक तरिकाले जिउने प्रयास गर्दा पनि मनोरोगको सम्भावनाबाट बच्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।