logo-img

अक्सनको ‘भाग्यमानी’ लुम्बिनी एनपिएलमा कहाँ चुक्यो ? [भिडियोसहित]
बिर्सनलायक लुम्बिनीको डेब्यू सिजन

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा लुम्बिनी लायन्सले सबैभन्दा ढिलो पहिलो म्याच खेलेको थियो । र, अब सबैभन्दा पहिला सातवटै म्याच खेल्ने टिम पनि लुम्बिनी नै बनेको छ ।

तीन टिमले अझै समान दुईवटा म्याच खेल्न बाँकी रहेको अवस्थामा लुम्बिनीले भने लिगको सबै खेल खेलिसकेको हो । छिटो म्याच खेलेर पनि होला लुम्बिनीले दबाब झेल्न सकेन ।

अक्सनपछि धेरैले लुम्बिनीलाई बलियो ठानेका थिए । उसको भागमा अक्सनको गोला प्रथाबाट महत्वपूर्ण पाँच खेलाडी परेका थिए ।​ तर, मैदानमा भने लुम्बिनीको प्रदर्शन फिक्का रह्यो । उसले पहिलो सिजनमा सात खेलबाट २ अंक मात्र जोड्न सक्यो ।     



कुन टिमविरुद्ध कस्तो प्रदर्शन ? 

लुम्बिनीले विराटनगर किंग्सविरुद्ध खेल्दै एनपिएलमा डेब्यू गरेको थियो । लुम्बिनीसामु पहिलो खेलमै जित निकाल्ने सुनौलो मौका थियो । तर, ऊ १ सय ९२ रनको लक्ष्य दिँदा पनि २ विकेटले स्तब्ध भयो ।



पहिलो खेलमा जित नजिक पुगेर पराजित भएको लुम्बिनीले दोस्रो म्याचमा पोखरा एभेन्जर्सको सामना गर्‍यो । त्यहाँ पनि बलरबाट साथ नपाउँदा १७१ रनको लक्ष्य दिएको लुम्बिनी १० विकेटले पराजित भयो ।



योसँगै ऊ एनपिएलमा १० विकेटले पराजित हुने पहिलो टिम बन्यो । लगातारको पराजयले दबाबमा रहेको लुम्बिनीको तेस्रो खेल सुदूरपश्चिमविरुद्ध थियो । उक्त खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १ सय ४२ रन मात्र जोड्यो । र, ऊ सुदूरपश्चिमविरुद्ध ४५ रनले पराजित भयो ।

हारमा ह्याट्रिक गरेको लुम्बिनी चौथो खेलसम्म आइपुग्दा थप दबाबमा देखियो । र, जनकपुर बोल्ट्सविरुद्धको त्यस खेलमा लुम्बिनीले एक रनको साँघुरो पराजय बेहोर्‍यो । 

जनकपुरविरुद्ध लुम्बिनी अन्तिम बलमा दुई रन जोड्न नसक्दा स्तब्ध भयो । पाँचौं खेलमा भने लुम्बिनीले जितको खाता खोल्यो । उसले चितवन राइनोजलाई ३३ रनले हराउँदै जितको खाता खोलेको हो ।

यो जित हात पार्दासम्म लुम्बिनीको प्लेअफ सम्भावना कमजोर बनेको थियो । छैटौँ खेलमा काठमाडौं गुर्खाजविरुद्ध १८ रनको पराजय बेहोर्दै लुम्बिनी एक खेलअगावै प्लेअफ दौडबाट बाहिरियो ।

लुम्बिनीसामु अब सुखद अन्त्य गर्नुशिवाय केही थिएन । तर, ऊ त्यसमा पनि चुक्यो । उसले अन्तिम तथा साताैँ खेलमा कर्णाली याक्सविरुद्ध ५ रनको पराजय बेहोर्‍यो।   

रोहितले पाएनन् साथ 

एक खेल मात्र जितेर बाहिरिए पनि लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलको प्रदर्शन भने उत्कृष्ट रह्यो । उनले ब्याटिङ/बलिङबाटै टिमलाई अगाडि बढाउन पूरा कोसिस गरे ।

रोहितले ब्याटिङमा सात खेलमा दुई अर्धशतकको मद्दतमा सर्वाधिक २ सय ७९ रन बनाए । बलिङतर्फ रोहितले ६ इनिङ्समा ५.६३ को इकोनमीमा ८ विकेट लिए ।

उनले अरू खेलाडीबाट भने दरिलो साथ पाउन सकेनन्, विशेषगरी ब्याटिङमा । लुम्बिनीका लागि सिजन अवधिभर रोहितले २७९, टम मुरिसले १६५, सन्दीप जोराले १२० र विवेककुमार यादवले १ सय रन बनाए । बाँकी ब्याटरले भने १ सय रन पनि कटाउन सकेनन् ।  

आशा गरिएका युवा खेलाडीहरू सूर्य तामाङ, अर्जुन साउद र आशुतोष घिरैयाको प्रदर्शन साधारण रह्यो । अरू स्पिनरले राम्रो प्रभाव पार्दा सूर्यले एक विकेट मात्र लिन सके । यस्तै, अर्जुनले ६ खेलमा ६८ तथा आशुतोषले ६ खेलमा ४४ रन मात्र बनाउन सके ।  

चलेनन् विदेशी स्टार

लुम्बिनी सुरुवातमै एनपिएलबाट बाहिरिनुमा विदेशी खेलाडीको प्रदर्शन कमजोर हुनु पनि रह्यो । उसले विदेशी खेलाडीको रूपमा अस्ट्रेलियाका बेन कटिङ, भारतीयमूलका अमेरिकन खेलाडी उन्मुक्त चन्द, इंग्ल्याण्डका टम मोरिस, वेस्ट इण्डिजका रामोन सिमन्ड्स र क्यानडाका सादबिन जाफरलाई भित्र्याएको थियो ।

उनीहरूमध्ये बेन कटिङ सर्वाधिक ठूलो नाम हो । तर, उनले नामअनुसार काम गर्न सकेनन् । कटिङले तीन खेलमा मात्र ब्याटिङ गरे, जहाँ उनले ५२.६३ को कमजोर स्ट्राइक रेटमा १० रन मात्र जोडे ।

बेन कटिङ

कटिङले बलिङ भने गरेनन् । यस्तै, आफ्नो कप्तानीमा सन् २०१२ मा भारतलाई यू–१९ विश्वकप जिताएका उन्मुक्त चन्दका लागि पनि डेब्यू एनपिएल निराशाजनक रह्यो । उनले ४ खेलमा १८ रन मात्र जोडे । 

यस्तै, टम मोरिसले ७ खेलमा १६५ तथा सादबिन जाफरले ६ इनिङ्समा ८३ रन बनाए । बलिङतर्फ जाफरले र सिमन्ड्सले समान विकेट लिए । आशा गरिएका खेलाडी नचल्दा पहिलो सिजन लुम्बिनीका लागि सम्झनलायक रहन सकेन । 

  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया