logo-img

अमेरिकी विदेशमन्त्री भन्छन्- ‘सिरियामा आइएसविरुद्ध काम गर्न अनिवार्य छ’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा बशर अल असदको पतनपछि इस्लामिक स्टेट (आइएस) को पुनरुत्थानविरुद्ध काम गर्नु ‘अत्यावश्यक’ भएको टर्कीएका अधिकारीसँगको कुराकानीमा बताएका छन् ।

बशर अल असदको सरकार ढलेपछि सिरिया सङ्कटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणको क्रममा टर्कीएका विदेशमन्त्री हाकान फिदानसँग अन्कारामा भएको भेटवार्तापछि उनले यस्तो टिप्पणी गरेका हुन् । 

ब्लिन्केनले संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हाम्रो देशले धेरै मेहनत गरेको छ र आईएसआईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयासहरू जारी राख्न अनिवार्य छ ।’   

जवाफमा फिदानले टर्कीए सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताएका थिए । 



‘हाम्रो प्राथमिकता सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्ने, आतङ्कवादलाई बलियो हुनबाट रोक्ने र आईएसआईएस र पीकेकेलाई त्यहाँ प्रभुत्व जमाउनबाट रोक्ने हो,’ टर्कीएविरुद्ध दशकौँ लामो विद्रोह लडेको कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) लाई सङ्केत गर्दै उनले भने ।

ब्लिन्केनले टर्कीएका विदेशमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेटवार्ता गरेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरेका थिए । 



भेटमा एर्दोगानले ब्लिङ्केनलाई सिरियामा आइएस जिहादीविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने तर चरमपन्थीहरूलाई नियन्त्रण गर्न आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । 



  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया