logo-img

एनपिएलमा चितवनविरुद्ध विराटनगरको सानदार जित, प्लेअफ सम्भावना जीवितै

विराटनगर किंग्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ । विराटनगरले दोस्रो जित निकाल्नेक्रममा शुक्रबार चितवन राइनोजलाई ५१ रनले हरायो । 

चितवनले भने आजको खेलमा खराब ब्याटिङ गर्‍यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।

उसका लागि अमर रौटेलाले ४२, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई, सुवास भण्डारी, लोकेश बम, बसिर अहमद र क्रिस सोलले एक/एक विकेट लिए । 



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युवा अलराउन्डर बसिर अहमदले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेका उनले चार छक्का र चार चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् ।  



यस्तै, मार्टिन गप्टिलले ३५ बलमा चार छक्का र एक चौकासहित ४५ रन जोडे । त्यस्तै, राजेश पुलामी मगरले २० बलमा तीन छक्का र एक चौकाको मद्दतमा अविजित ३३ रनको आक्रामक पारी खेले । 

यस खेलमा बसिर र राजेशले उत्कृष्ट फिनिसिङ गरे । उनीहरूबीच अन्तिम ६ ओभरमा ८१ रनको साझेदारी साझेदारी बन्यो । चितवनका लागि रिजन ढकालले दुई, सोहेल तनवीर, बसिल हमीद र कुशल मल्लले एक/एक विकेट लिए ।



यो जितपछि विराटनगर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फराकिलो जितपछि विराटनगरले  प्लेअफ सम्भावना पनि जीवितै राखेको छ । विराटनगरले ६ म्याच खेल्दा चारमा हार तथा दुई खेलमा जित निकालेको छ ।    

यस्तै, चितवनले ६ म्याच खेल्दासम्म तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । प्लेअफ सम्भावना बलियो बनाउन चितवन पनि जित्नैपर्ने दबाबमा छ ।

ऊ अहिले ६ अंकसहित तालिकाको चौथो स्थानमा छ ।    

  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया