दशक अघिसम्म हेलिकोप्टर उच्च वर्गका व्यक्तिले मात्र चढ्ने विलासिताको साधन मानिन्थ्यो । सर्वसाधारणका लागि भने स्वास्थ्य उपचारलगायत आपतकालीन र आकस्मिक प्रयोजनमा मात्र हेलिकोप्टरको प्रयोग भएको देख्न पाइन्थ्यो ।
पछिल्लो समय हेलिकोप्टर हिमाली क्षेत्रमा घुम्न जाने पर्यटकको साधनको रूपमा पनि विकास भएको छ । हिमालयको देशका रूपमा विश्वभर परिचित नेपालमा पछिल्लो समय पर्वतीय पर्यटनमा हेलिकोप्टरले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
हिमाली क्षेत्रमा हिँडेर जान सबै पर्यटकका लागि सम्भव हुँदैन । त्यसैले त्यस क्षेत्रमा घुम्न जान चाहनेले हेलिकोप्टरको प्रयोग गर्दै आएका छन् । सोही कारण पनि निजी क्षेत्रका हेलिकोप्टर सेवा प्रदायकले पर्यटकका लागि आकर्षित गर्न प्याकेज ल्याउने गरेका छन् ।
नेपाल वायुसेवा सञ्चालक संघका अनुसार नेपालमा हाल २५–३० वटा हेलिकोप्टर सञ्चालनमा छन् । नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकोप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, अन्नपूर्ण हेलिकोप्टर, एली एभरेष्ट, कैलाश हेलिकोप्टरले सेवा दिइरहेका छन् । भौगोलिक वनावटका कारण पनि नेपालमा हेलिकोप्टर सेवा बढी प्रभावकारी मानिन्छ । त्यसैले पनि पर्यटकका लागि सजिलो र विश्वासिलो माध्यम बन्दै आएको छ, हेलिकोप्टर ।
पर्यटनको सिजनमा प्रायः सबै हेलिकोप्टरलाई भ्याइनभ्याइ हुन्छ । वसन्त ऋतु हेलिकोप्टरको मुख्य सिजन मानिन्छ । यस ऋतुको याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी आउँछन् । उनीहरू सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, लाङटाङ, लुक्ला, जोमसोम, डोल्पालगायत गन्तव्यमा हेलिकोप्टर लिएर पुग्छन् ।
हेलिकोप्टरकै कारण बढी खर्चालु पर्यटकका लागि नेपालको हिमाललगायतका गन्तव्य रोजाइमा परिरहेको छ । त्यही भएर पनि पछिल्लो समय हिमाल र हेलिकोप्टर सँगसँगै भनिँदै आइएको छ । तर, पर्यटकको सर्वाधिक आकर्षक क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा व्यावसायिक हेलिकोप्टर सञ्चालनमा रोक लगाइएको छ । आउँदो १७ पुसदेखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्णरूपमा रोक लगाइएको हो ।
सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्छ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको छ ।
पूर्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभइ सांस्कृतिक भ्रमणका लागि त्यहाँ वार्षिक सयौं पर्यटक पुग्ने गर्छन् ।
हेलिकोप्टर उडानमा किन रोक ?
हेलिकोप्टर उडानले अत्यधिक ध्वनी प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्णरूपमा रोक लगाइएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।
बुधबार निर्णय गर्दै नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई १९ पुस (१ जनवरी २०२५) देखि त्यस क्षेत्रमा पर्यटक बोकेर व्यावसायिक चार्टड उडान नगर्न निर्देशन दिएको छ । ‘हेलिकोप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका बस्तीहरूमा अत्यधिक ध्वनि प्रदूषणसमेत भएको छ भने अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि/क्रियाकलापसमेत हुन सक्ने सम्भावना छ,’ पत्रमा लेखिएको छ ।
अब हिमाल आरोहण सिजनमा पनि हेलिकोप्टरमा आरोहण दलका बन्दोबस्तीका सामान लैजान पाइने छैन । खुम्बु क्षेत्रको निश्चित ठाउँसम्म हेलिकोप्टरले पुर्याउने र त्यहाँबाट सरसामान भरिया वा चौँरीबाट ओसार्नुपर्नेछ । यस्तै, हेलिकोप्टरमा सगरमाथा क्षेत्रको दुईतर्फी वा एकतर्फी सयर गर्न रुचाउने धनी पर्यटकले समेत हिँडेरै सगरमाथा आधार शिविरको पदयात्रा गर्नुपर्नेछ ।
निकुञ्जले यो निर्णय पालना गर्न एयर डाइनेस्टी, प्रभु, कैलाश, अन्नपूर्ण, माउन्टेन, अल्टिच्युड, फिस्टेल, श्री, सिम्रिक, हेली एभरेस्ट र मनाङ एयरलाई निर्देशन दिएको छ । यसको अनुगमन तथा निर्णय कार्यान्वयनका लागि नेपाली सेनाको भगवतीप्रसाद गुल्म, नाम्चे र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मेन्दल्फुलाई पत्र पठाएको छ । इलाका प्रहरी कार्यालय नाम्चे, जिल्ला प्रशासन कार्यालय सल्लेरी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई यो निर्णय पालना गराउन समन्वय गरीदिनसमेत भनेको छ ।
निकुञ्जले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हेलिकोप्टरले अत्यधिक व्यावसायिक उडान/अवतरण गर्ने गरेको जनाएको छ । हेलिकोप्टर उडानका कारण खुम्बु क्षेत्रमा रहेका स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो बढेको राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।
सोही कारण निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय र सरोकारवाला सरकारी गैरसरकारी संघसंस्थाको बैठकले हेलिकोप्टर उडानलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको छ । खुम्बु क्षेत्रमा स्थानीयको उद्धार, सामान ढुवानी र पर्यटकका लागि हेलिकोप्टरले काठमाडौं, रामेछाप र लुक्लाबाट चार्टर उडान गर्दै आएका छन् । यो नियम उल्लंघन गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ तथा प्रचलित कानुनविपरीत हुने निकुञ्जले जनाएको छ ।
निकुञ्जले यसअघि पनि यस विषयमा हेलिकोप्टर कम्पनीलाई अनुमति लिएर उडान गर्न भनेको छ । तर, उक्त कानुन प्रभावकारी नभएको जनाइएको छ । ‘निकुञ्ज कार्यालयबाट अनुमति नलिई मनपरी ढंगबाट उडान तथा अवतरण गर्दा राजस्व चुहावट समेत हुने गरेको छ’, निर्णयमा भनिएको छ ।
निकुञ्ज भ्रमणमा आउने पर्यटक तथा पदयात्रीको स्वास्थ्यका कारण उद्धार गर्नुपरे निकुञ्जले उपकरण पूरा भएको हेलिकोप्टरले मात्रै उडान गर्न पाउने, उद्धार उडान गर्नुपर्ने अवस्था आए वडा कार्यालय, सम्बन्धित मध्यवर्ती उपभोक्ता समिति, नजिकैको स्वास्थ्य चौकीको मौखिक वा लिखित सिफारिस चाहिने पनि जनाएको छ ।
निकुञ्जले हेलिकोप्टरको उडान-अवतरण र होभरिङ सम्बन्धमा कुनै पनि बेला जाँच गर्नुपर्ने अवस्था आइपरे निकुञ्ज प्रशासन तथा नेपाली सेनाले जाँच गरी उडान–अवतरणको अनुगमन गर्न सक्ने भनेको छ । निकुञ्चका अनुसार नेपाल घुम्न आउने पर्यटकको पहिलो रोजाइ सगरमाथा क्षेत्र नै पर्छ । कात्तिकमा मात्र १२ हजार ७ सय १७ पर्यटकले सगरमाथा क्षेत्र अवलोकन गरेका छन्, जसमा १ हजार ५ सय ८३ जना नेपाली, ७ सय ५७ सार्क राष्ट्र र १० हजार २ सय ७७ जना विदेशी पर्यटक रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त पर्यटक हवाई र पदमार्गमार्फत सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणमा पुगेका हुन् ।
के भन्छन् वायुसेवा कम्पनी ?
सगरमाथा राष्ट्रिय निकुञ्जमा व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय गरेसँगै वायुसेवा सञ्चालकले भने उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सगरमाथा क्षेत्रमा व्यावसायिक उडान रोक्दा समग्र पर्यटन क्षेत्रमा असर पर्ने भन्दै हेलिकोप्टर उडान नै रोक लगाउनु गलत भएको बताउँछन्, नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरलिधर जोशी ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर हेलिकोप्टरले उक्त क्षेत्रमा उडान गरिरहेको उनी बताउँछन् । ‘हामीले मन्त्रालय र प्राधिकरणबाट स्वीकृति लिएर हेलिकोप्टर उडान गरिरहेका छौं । निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णय हामीलाई स्वीकार्य छैन,’ जोशीले भने ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समूहले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर लगाएको रोक संघका कुनै पनि सदस्यका लागि मान्य नभएको संघका प्रवक्ता जोशी बताउँछन् । यो निर्णयले व्यवसायी मात्र नभएर समग्र पर्यटन क्षेत्रमा नै दीर्घकालिन असर पर्ने उनको भनाइ छ ।
‘यो निर्णयले हामीलाई असर नगर्ने होइन, गर्छ । हामीले यो क्षेत्रमा काम गर्ने भनेको ६० प्रतिशत हो,’ संघका प्रवक्ता जोशी भन्छन्, ‘तर, हामीभन्दा बढी समग्र पर्यटन क्षेत्रलाई असर गर्छ । हामी त व्यवसायी मात्रै हौं, सगरमाथामा रोक लगाए अर्को क्षेत्रमा जोडिन्छौं ।’
अहिले पर्यटनको सिजन नभएका कारण उक्त क्षेत्रमा दैनिक चार/पाँचवटा मात्र हेलिकोप्टर उडान हुँदै आएको छ । सिजनमा यस क्षेत्रमा हेलिकोप्टर उडानमा चाप हुने उनी बताउँछन् । हेलिकोप्टर उडानले अत्यधिक ध्वनी प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भनिए पनि यस विषयमा गहन अध्ययन नै नगरी निर्णय गरिएको उनको भनाइ छ ।
‘वन्यजन्तुको बासस्थान, हिमाल पग्लिन थाल्यो भन्ने कुराहरू गरिएको छ । यो हाम्रो पनि दायित्व हो । तर, यसमा गहन अध्ययन भएजस्तो मलाई लाग्दैन,’ उनी भन्छन्, ‘हेलिकोप्टरको ध्वनीले असर गरेको कुरा गरिएको छ । हेलिकोप्टरको आवाजले त्यति धेरै असर गरेजस्तो हामीलाई लाग्दैन । हेलिकोप्टर निर्माण कम्पनीहरूले पनि हेलिकोप्टरको कति ध्वनीले कस्तो असर गर्छ भनेर मापदण्डअनुसार नै बनाएका हुन्छन् ।’
के भन्छन् विज्ञ ?
यसरी पर्यटकीय क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाइएको यो पहिलोपटक भने होइन । विगतमा पनि बेलाबेला केही क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाइएको थियो । त्यसैले यो विषयमा सरकारले गहन अध्ययन गर्नुपर्ने बताउँछन्, पर्यटनविज्ञ रामचन्द्र सेढाइ । दुवै पक्षलाई हानी नहुने गरी पर्यटन क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
‘नेपालको पर्यटन सबै सिजनमा सबै उमेर समूहका पर्यटक सबै ठाउँ घुमून् भन्ने हो,’ उनी भन्छन्, ‘खाली झोला बोकेर ट्रेकिङ मात्रै जाउन् भन्ने सोच राख्नु हुँदैन । एक दिन नेपाल घुम्न आउने पर्यटक पनि हजारौं डलर खर्च गर्न सक्छन् । त्यो वातावरण हामीले बनाउनु पर्छ ।’
सरकारले यो विषयमा गहन अध्ययन गर्नुपर्ने पर्यटनविज्ञ सेढाइको तर्क छ । हेलिकोप्टर उडानको वर्षमा दुई मुख्य सिजन हुन्छ । पहिलो सिजन दुई महिना अप्रिल र मे हो भने दोस्रो सिजन तीन महिना अक्टोबर, नोभेम्बर र डिसेम्बरको पहिलो सातासम्म हो । यो समयमा विभिन्न रुटमा पदयात्रा र पर्वतारोहणका लागि जाने पर्यटक बढ्छन्, हेलिकोप्टर उडानमा पनि चाप हुन्छ । ‘नेपालको पर्यटकीय हब भनेको हिमाली क्षेत्र नै हो,’ सेढाइ भन्छन्, ‘कसैलाई पनि हानी नपुग्ने तरिकाले सरकारले नीति बनाउनुपर्छ । अब गन्तव्यको विकाससँगै पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि सरकारी तवरबाट योजना हुनुपर्छ । नेपालले विभिन्न देशबाट पर्याप्त पर्यटक भित्र्याउन सक्छ । यसका लागि राज्यले पनि सहज नीतिगत व्यवस्था गर्नुपर्छ ।’
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक उडान रोक्ने मात्रै होइन, उद्धारमा समेत सर्त राखिएकाले यस निर्णयप्रति प्रश्न उब्जिएको सेढाइ बताउँछन् । ‘निकुञ्ज भ्रमणमा आउने पर्यटक तथा पदयात्रीको स्वास्थ्यका कारण उद्धार गर्नुपरे विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सर्त राखिएको छ । उद्धार कस्तो अवस्थामा गरिन्छ ?,’ उनले प्रश्न गरे, ‘उद्धार उडान गर्नुपर्ने अवस्था आए वडा कार्यालय, सम्बन्धित मध्यवर्ती उपभोक्ता समिति, नजिकैको स्वास्थ्य चौकीको मौखिक वा लिखित सिफारिस चाहिने, निकुञ्ज प्रशासन तथा नेपाली सेनाले जाँच गरी उडान–अवतरणको अनुगमन गर्ने लगायतका सर्त राखिएको छ । त्यति सर्त पुरा गर्दा गर्दै मानिसको ज्यान जान सक्छ । यो कुरामा पनि विचार पुर्याउनु पर्छ ।’
अबको आवश्यकता भनेको प्रविधि र पर्यटनलाई सँगसँगै लैजानुपर्ने पर्यटनविज्ञ सेढाइ बताउँछन् । ‘अब पनि पर्यटकलाई हिँडाएर मात्रै हिमाल देखाउनुपर्छ भन्ने सोच राख्नु हुँदैन,’ उनी भन्छन्, ‘सूचना र प्रविधि सँगसँगै पर्यटनलाई लैजानु पर्छ । नेपालमा पर्यटनको अथाह सम्भावना छ । पर्यटन प्रवर्द्धन गर्दै अवसर सिर्जना गर्न यो क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक छ ।’
यसका लागि सरकारी तवरबाट आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने, गैरसरकारी एवं निजी क्षेत्रलाई सहजीकरण र पर्यटन पूर्वाधारको विकासमा लगानी गरी पर्यटनमैत्री बनाउनुपर्ने पर्यटनविज्ञ सेढाइको तर्क छ ।
के छ नेपाल भित्रिने पर्यटकको अवस्था ?
सन् २०२४ को ११ महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि नोभेम्बरसम्ममा १० लाख ५५ हजार ५ सय ५३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९४ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटक नेपाल भित्रिएका थिए ।
यस्तै, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५, अक्टोबरमा एक लाख २४ हजार ३ सय ३ र नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटकहरू नेपाल भ्रमणमा आएका थिए ।
अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा १ लाख ३१ हजार पर्यटक नेपाल भित्रिदा सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक भित्रिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।