logo-img

परराष्ट्रमन्त्री राणाले भेटिन् बेल्जियमका विदेशमन्त्री, आर्थिक र प्राविधिक क्षेत्रमा सघाउन अनुरोध

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् ।

युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहेका बर्नार्डसँगको भेटमा नेपाल-बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।  

भेटमा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग अनुरोध गरेकी थिइन् । 

भेटमा नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि कुराकानी भएको थियो ।



नेपालको सामाजिक आर्थिक रुपान्तरणका लागि युरोपियन युनियनमार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्‍याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री देउवाले धन्यवाद दिइन् ।

भेटमा परराष्ट्रमन्त्री देउवाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि बर्नार्डलाई गराएकी थिइन् ।



जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालले अकल्पनीय क्षति बेहोर्नुपरिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियममार्फत् युरोपियन युनियनसँग उनले आग्रह गरिन् । 

सो वार्तामा मन्त्री डा. देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानुन निर्माण भएका जानकारी पनि गराएकी थिइन् ।



साथै उनले विदेशमन्त्री बर्नार्डसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्य र मानवअधिकार आयोगको सदस्यमा नेपालले उम्मेदवारी दिन लागेकाले त्यसमा नेपालले बेल्जियम सरकारको सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन् ।

  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया