नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।
आज काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।
दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी गराइयो ।
यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के हुने छन् ।
यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुने आयोजकले जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरु हुनेछ ।
अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ ।
यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।