नेपाल प्रिमियर लिग (एनपिएल) को सुरु हुनुअघिसम्म धेरै समर्थकले विराटनगर किंग्सलाई पनि उपाधि दाबेदार टिमको रूपमा हेरेका थिए । टिममा न्यूजिल्याण्डका विस्फोटक ब्याटर मार्टिन गप्टिलदेखि स्टार स्पिनर सन्दीप लामिछाने भएकाले पनि विराटनगर उपाधि दाबेदारको सूचीमा थियो ।
प्रदर्शन हेर्दा भने विराटनगर ‘फ्लप’ टिमको सूचीमा पर्यो । र, उसले प्लेअफमा समेत स्थान बनाउन सकेन । विराटनगरले लिग चरणको ७ खेलमध्ये पाँचमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो । सन्दीप लामिछाने नेतृत्वको विराटनगरको न सुरुवात राम्रो रह्यो नत अन्त्य नै ।
कुन टिमविरुद्ध कस्तो प्रदर्शन ?
उद्घाटन खेलमै जनकपुर बोल्ट्ससँग ८ विकेटको फराकिलो हार बेहोरेर विराटनगरले लिगको सुरुवात गरेको थियो । पहिलो खेलमै ठूलो धक्का महसुस गरेको विराटनगर दोस्रो खेलमा पनि लयमा देखिएन । सुदूरपश्चिम रोयल्सविरुद्धको उक्त खेलमा १८३ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगर ९२ रनमै अलआउट भयो । र, उसले ९० रनको हार बेहोर्यो ।
लगातार दुई हारले दबाबमा रहेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्यो । त्यस खेलमा उसले १ सय ९२ रनको लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । विराटनगरले चौथो खेलमा भने कर्णाली याक्सले दिएको १ सय ३४ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उक्त खेलमा विराटनगर सात रनले स्तब्ध भयो ।
पाँचौं खेलमा पनि विराटनगर चुक्यो । पोखरा एभेन्जर्सविरुद्धको उक्त खेलमा विराटनगरले उत्कृष्ट कमब्याक गर्दै जित निकाल्ने सम्भावना बलियो बनायो । तर, बसिर अहमदले अन्तिम बलमा छक्का दिँदा खेल सुपर ओभरमा धकेलियो । जहाँ विराटनगरले १९ रन बनाउन सकेन । र, उसले महत्वपूर्ण दुई अंक गुमायो ।
छैटाैँ खेलमा भने विराटनगरले चितवन राइनोजविरुद्ध ५१ रनको सानदार जित निकाल्यो । यद्यपि यो अवस्थासम्म विराटनगरको प्लेअफ यात्रा निकै कठिन बनेको थियो । शीर्ष चारमा पुग्न ऊसामु अब अरू टिमको नतिजामा भर पर्नुको अर्को विकल्प थिएन । र, प्लेअफ पुग्ने विराटनगरको झिनो आशा पनि शनिबार चितवनले जनकपुरलाई हराएपछि समाप्त भयो ।
अब विराटनगरसामु अन्तिम खेल जितेर सुखद अन्त्य गर्ने मौकाबाहेक केही बचेको थिएन । तर, ऊ त्यसमा पनि सफल भएन । आइतबार भएको काठमाडौं गुर्खाजसँगको रोमाञ्चक खेलमा एक विकेटको हार बेहोर्दै यसपालि विराटनगरको एनपिएल यात्रामा पूर्णविराम लाग्यो ।
कहाँ चुक्यो विराटनगर ?
‘कोशीको सान, हाम्रो पहिचान’ को नाराका साथ एनपिएल खेलेको विराटनगरले प्लेअफको यात्रा गर्न नसक्नुमा स्टार खेलाडी ‘फ्लप’ हुनु प्रमुख कारण रह्यो । विराटनगरसँग ब्याटिङमा मार्टिन गप्टिल र बलिङमा सन्दीप लामिछाने प्रमुख खेलाडी थिए । उनीहरूसँग आइपिएल, बिबिएलदेखि विश्वकपका कयौँ व्यावसायिक लिग खेलेको अनुभव छ । तर, एनपिएलमा भने उनीहरूले आफ्नो अनुभव सदुपयोग गर्न सकेनन् ।
विस्फोटक ब्याटिङका लागि परिचित गप्टिलले टियू मैदानमा रन बनाउन संघर्ष गरेको देखियो । उनले ६ खेलमा १२०.१७ को सामान्य स्ट्राइक रेटमा १३७ रन बनाए । एनपिएलमा गप्टिलको उच्च स्कोर ५५ रन रह्यो ।
टिमका लागि आशाअनुसार प्रदर्शन गर्न नसके पनि गप्टिलले विराटनगरका लागि लगातार ६ म्याच खेले । घाइते नभएको भए उनले अन्तिम म्याच पनि खेल्ने सम्भावना थियो ।
यस्तै, विराटनगरले अरू विदेशी खेलाडीबाट पनि राम्रो साथ पाउन सकेन । उसले विदेशी खेलाडीको रूपमा गप्टिलसहित क्यानडाका कप्तान निकोलस किर्तन, ओमानका कप्तान अकिब इलियास, नेदरल्याण्ड्सका कप्तान स्कट एर्डवाड्स, अफगानिस्तानका इस्मत आलम र स्कटल्याण्डका क्रिस सोललाई भित्र्याएको थियो ।
प्रायः राष्ट्रिय टिमकै कप्तान अनुबन्ध गरे पनि विराटनगरले उनीहरूबाट प्रदर्शन भने राम्रो भेटेन । स्कट एडवर्ड्स तीन खेल मात्र रहँदा विराटनगरमा जोडिएका थिए । उनले तीन खेलमा ११३.२० को स्ट्राइक रेटमा ६० रन मात्र बनाए ।
यस्तै, किर्तनले ७ खेलमा ९० रन तथा अकिबले २ खेलमा २३ रन मात्र जोडे । अलराउन्डरको भूमिका भए पनि उनीहरू बलिङमा पनि लयमा देखिएनन् । यस्तै, तीव्र गतिका बलर क्रिस सोलले ७ खेलमा ९ तथा इस्मत आलमले तीन खेलमा दुई विकेट मात्र लिए ।
सन्दीपकाे खराब लय
विराटनगरले आशातीत प्रदर्शन गर्न नसक्नुको कारणमा सन्दीपको खराब लय पनि रह्यो । विश्वकपका ठूल–ठूला लिगमा ब्याटरको टाउको दुखाइ बन्ने सन्दीप एनपिएलमा भने कमजोर देखिए । उनले ७ खेलमा ६.८२ को इकोनमीमा ६ विकेट मात्र लिए । सन्दीप सातमध्ये महत्वपूर्ण चार खेलमा खेलमा विकेटविहीन बने । यस्तै, विराटनगरले अरू नेपाली खेलाडीबाट पनि राम्रो साथ पाउन सकेन ।
टिमका सर्वाधिक आशा गरेका खेलाडीले निराश बनाउँदा केही युवा स्टारले भने राम्रो प्रदर्शन गरे । उक्त सूचीमा अलराउन्डर बसिर अहमद, बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी, लोकेश बमलगायतको नाम आउँछ ।
विराटनगरका लागि सर्वाधिक रनकर्ताको सूचीको शीर्षमा रहेका बसिरले ७ खेलमा १२३.१२ को स्ट्राइक रेटमा १८१ रन बनाए । यस्तै, उनले बलिङमा ६ विकेट पनि लिए । यस्तै, प्रतिशले ६ खेलमा ६.६८ को इकोनमीमा ९ विकेट लिए । लोकेशले ७ खेलमा १३६.४५ को स्ट्राइक रेटमा १३१ रन बनाए ।
प्लेअफको यात्रा गर्न नसके पनि पहिलो सिजनमा विराटनगर किंग्स सुपर ओभर खेल्ने र सर्वाधिक उच्च स्कोर पूरा गर्ने टिम भने बन्यो । उसले पोखराविरुद्ध सुपर ओभर खेल्दा लुम्बिनीसँगको १९१ रनको लक्ष्य पूरा गरेको थियो ।
यो पनि
अक्सनको ‘भाग्यमानी’ लुम्बिनी एनपिएलमा कहाँ चुक्यो ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।