बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बंगलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको काम चलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।
गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बंगलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।
उनले करिब १७ करोड जनसङ्ख्या रहेको बंगलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।
‘सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्र्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,’ उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा बताएका छन् ।
गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ पुगेकी थिइन् । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्तामा सयौँ मानिसहरूको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उनको पलायन पछिको केही घण्टामा कैयौँ अवामी लिग समर्थक कार्यकर्ताको पनि मृत्यु भएको थियो ।
उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो।
हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको थियो, जसमा उनका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्नु र गैरन्यायिक हत्याहरू पनि समावेश थिए।
युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गरेका छन् । निर्वाचनको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ ।
युनुसले भनेका छन्, ‘निर्वाचनको व्यवस्था गर्नुअघि नै मैले सुधार गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छु ।’
उनले अगाडि भने, ‘राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा निर्वाचन गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन गर्न सकिन्छ ।’ तर निर्वाचन सुधारको पूर्ण सूची समावेश गर्दा केही महिना ढिला हुने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।