logo-img

‘टासिदेले च्योर्दोङ’

अहो ! हिमाल कति धेरै देखिएका, अन्नपूर्णदेखि गौरीशङ्कर हुँदै नुम्बुरसम्म । गुराँस फुल्दा च्योर्दोङ कति राताम्मे देखिएला ! फेरि भेटौँला है, च्योर्दोङ !  

म हिमाली जिल्ला डोल्पामा जन्मेहुर्केको मान्छे। त्यसैले हिउँ, हिमाल र हिमाली जनजीवनमा अभ्यस्त छु। मलाई हिमाल, पहाड र तराई सबैतिर घुमघाम गर्न मन लाग्छ। घुमघामबाट मुलुक चिन्ने अवसर त मिल्छ नै, शरीर र मनमा ऊर्जा पनि बढ्छ। नयाँ नयाँ साथीसँग साक्षात्कार हुन पाइन्छ। फरक संस्कृति बुझ्न पाइन्छ। 

यसपालि यस्तै एउटा यात्राको साइत जुर्‍यो। एक साँझ पत्रकार मित्र अमृत भादगाउँलेले मोबाइल फोनमा भने, ‘जिरी घुम्न जानुपर्छ है सेम्दुक सर !’

दोलखा जिरीको विषयमा धेरै पहिलेदेखि सुनेको र पढेको थिएँ। केही वर्ष पहिला अमृतजी र लिलाराम खड्का भाइहरूसँग दोलखाकै सैलुङ, भीमेश्वर, कालिञ्चोक र बिगु गुम्बा घुमेको थिएँ। जिरी भने घुम्नै बाँकी थियो। 



‘नेपालको स्विजरल्यान्ड’ भनेर चर्चा पाएको जिरी जाने प्रस्ताव सुन्नेवित्तिकै उत्साही बनेँ। जिरीको विकासमा स्विस भुर्गवविद् टोनी हागनले ठुलो गुन लगाएका छन्। उनकै योजना अनुसार दोलखामा स्विस विकास परियोजना सञ्चालन गरिएको थियो। 

त्यही जिरीमा जान भनेर मङ्सिर २४ गते बिहान हामी काठमाडौंको जडीबुटीमा जम्मा भयौँ। र, एउटा इभी गाडीमा सरर जिरी हुइँकियौँ। 



यसरी ‘जाऔँ है च्योर्दोङ’ अभियानमा निस्क्यौँ हामी। जिरी बजारको शिरमा रहेको ‘च्योर्दोङ’ (३७०० मिटर)लाई पर्यटकीय गन्तव्य बनाउन तिनै लिलाराम भाईले अभियान शुभारम्भ गरेका रहेछन्। उनी भने अघिल्लो दिन नै जिरीमा पुगेर आवश्यक व्यवस्थापन मिलाउँदै थिए।

हाम्रो यात्रालाई नै ‘जाऔँ है च्योर्दोङ’ अभियानको शुभारम्भ मानिएको रहेछ। खुसी लाग्यो। हाम्रो भ्रमण दलमा केही चिरपरिचित साथीहरू थिए, रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, गुरिल्ला (सुरेन्द्र राना मगर), राजकुमार गजुरेल, चन्दा खड्का। त्यसबाहेक नयाँ साथीहरू सिर्जना अधिकारी र उज्जवल श्रेष्ठसँग पनि मितेरी गाँसियो।  



फरासिला साथीहरूसँगको यात्रा रमाइलो हुन्छ। हामीले मुडेमा पुगेर खाना खायौँ। हामीपछि वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीको समूह पनि आइपुग्यो। उनको गाडीमा भक्तशंकर श्रेष्ठ, रोहेज खतिवडा, काजी थापा थिए। हामीले सँगै खाना खायौँ। 

खानापछि मुडेमै हामीले पहिलो सामूहिक तस्बिर पनि खिच्यौँ। मुडेपुछि सबै साथीहरू रंगिलो बने। किवी फलको रक्सीले सबैलाई रंगीन बनायो। 

हामी करिब ७ घण्टामा जिरीमा पुग्यौँ। रिमरिमे अँध्यारो भैसकेको थियो। बजार भने सफा नै देखियो। 

हामीलाई लिलाराम भाइले ‘होटेल गौरी हिमाल’मा बसोबासको व्यवस्था मिलाएका रहेछन्। राती अबेरसम्म खानपिन र रमाइलो गरेर त्यहीँ सुत्यौँ। 

भोलिपल्ट हाम्रो गन्तव्य चुम्ने दिन । च्योर्दोङ (३,७०० मिटर)मा पुग्ने दिन। जिरीबाट बिहान १० : ३० बजे जिप चढ्यौँ। र, क्याङ्से पोखरीमा पुग्यौँ। जिपमा क्याङ्से पुग्न १ घण्टा लाग्यो।

पोखरीसम्म सडक ट्रयाक खोलिएको रहेछ। त्यहाँबाट हाम्रो पदयात्रा सुरु भयो। डाँडामा साइकल पर्यटनको सम्भावना पनि अध्ययन गर्ने योजना थियो। त्यसैले साथीहरूले ४ ओटा माउन्टेन बाइक पनि ल्याएका थिए। 

त्यस्तो ठाडो उकालोमा कसरी चढ्नु साइकल ? त्यसैले दुई जना सहयोगी साइकल बोकेर अघि बढे। हामीले तिनलाई पच्छ्यायौँ। 

उकालो चढ्दा ठाउँठाउँमा पुराना माने देखिए। यता बौद्धमार्गीको बसोबास रहेछ। हिँड्दै जाँदा हामी फराकिलो चौरमा पुग्यौँ। याक चर्न मिल्ने चौर अर्थात् पेमादिङ। यसरी दुई घण्टा हिँडेपछि हामी पेमादिङ पुग्यौँ। 

त्यहाँ हाम्रा लागि सगरमाथा आरोही लालबहादुर जिरेलको समूहले खाना तयार गरेको थियो। त्यो दिन हामीले दिउँसो २:३० बजे लन्च खायौँ। 

थकाई लागेको थियो। खाना खाएर ३ बजे हामी माथि क्याम्प साइट च्योर्दोङ पुग्दा घाम डुब्दै थियो। माथि पुग्न ठ्याक्कै दुई घण्टा लाग्यो। डाँडामा पुग्ने वित्तिकै हामीले सूर्यलाई बिदा गर्‍यौँ। मनै रमाउने दृश्य थियो, सूर्यास्तको। 

डाँडामा पुग्दै बेग्लै आनन्द अनुभूति भयो। गुराँसका बुटा थिए, डुब्दै गरेको घामको छाया पाखामा सल्बलाइरहेको थियो। चौँरी गोठ आदि देख्दा रमाइलो त हुने नै भयो।  

मङ्सिरे महिना, त्यसमाथि अग्लो डाँडा, हावा बेस्सरी चल्दै थियो। साथीहरूले क्याम्प फायर गरे। पदमचाल जडीबुटी मिसिएको कोदोको रक्सीले हामीलाई रनक्कै ततायो। अनि त नाचगान सुरु भइहाल्यो। 

हाम्रो यात्रामा जिरीबाट केही साथी थपिएका थिए, पत्रकार केन्द्र ज्योति खड्कासहितका। पदयात्री र सहयोगी सबै गरेर त्यो रात डाँडामा हामी ३६ जना बस्यौँ।  

च्योर्दोङ डाँडाको बसाई मिठो भयो। ऐतिहासिक बन्यो। हामी राती अबेर मात्र क्याम्पभित्र पस्यौँ। 

बिहान हामी चाँडै उठ्यौँ। सूर्योदय पनि सुन्दर देखिँदो रहेछ। अहो ! हिमाल पनि कति धेरै देखिएका, अन्नपूर्ण, गणेश, लाङटाङ गौरीशङ्कर हुँदै नुम्बुर हिमसृङ्खलासम्म । हामीले आँखा र मोबाइल फोनले तस्बिर खिचिरह्यौँ। खिचिरह्यौँ ! 

हाम्रा लागि बिहानको खाजा तयार भइसकेको थियो। खाजामा कोदोको रोटी, गेडागुडीको तरकारी र राँगाको सुप गज्जबै मिठो थियो। 

अर्को रमाइलो कुरा, हाम्रा सहयोगी भाइहरूले डाँडामै रक्सी पारे। गौरीशङ्करकै सामुन्ने पारिएको तात्तातो रक्सीको स्वाद शब्दमा बयान गर्न सकिँदैन। 

धेरै रमाइलो अनुभव सँगाल्न पाइयो। ‘जाऔँ है च्योर्दोङ’ अभियानमा साइक्लिङको सम्भावना पनि उजागर गर्नु थियो। त्यसैले ब्रेकफास्टपछि साथीहरूले डाँडामा साइकल कुदाए। हामीले चाहिँ तिनका तस्बिर र भिडियो खिच्यौँ। 

हिन्दु र बौद्धमार्गी दुवैको साझा तीर्थ मानिन्छ च्योर्दोङ। डाँडामा च्योर्दोङेश्वर महादेवको मन्दिर छ। ठाउँठाउँमा लुङ्दार र धज्र्यू गाडिएका छन्। मैले पनि त्यहाँ लुङ्दार टाँगे। गुरु रिम्पोचेलाई मनफूल चढाएँ। 

हामीले दिउँसो १ बजे खाना खायौँ। र, त्यहाँबाट ओरालो झर्यौं। ओरालो झर्दै गर्दा गुराँसका बुटाले मलाई रोके। अनि मनमनै भनेँ, ‘गुराँस फुल्दा च्योर्दोङ कति राताम्मे देखिएला !’ 

फेरि भेटौँला है, च्योर्दोङ !

हामी साँझ जिरीमा बस्यौँ। भोलिपल्ट काठमाडौं फर्कन इभी गाडीमा चढ्यौँ। इभीमा बसेका बेला मैले मनमनै लिलाराम भाइलाई धन्यवाद दिएँ। आफ्नो जन्मथलोको प्रचारप्रसारमा निजी खर्चमा उनले हामी सबैलाई घुमाए। अभियानको आयोजकमा ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’ भनिए पनि सबै खर्च उनैले गरेका हुन्। हरेक गाउँमा यस्तै युवा भइदिए समाज अघि बढ्न बेर लाग्दैन। 

अन्त्यमा, डाँडासम्मै मोटर बाटो पुर्‍याएर होटेल खोलेमा च्योर्दोङमा चाँडै पर्यटकीय गतिविधि बढ्न सक्छ। त्यसका लागि जिरी नगरपालिकासहितका सरोकारवाला सबै कहिले गम्भीर बन्लान् ?  

जय जिरी ! जय च्योर्दोङ ! 

  • प्रकाशित मिति : पुस १, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया