logo-img

विलीन भए ‘पिपुल लभ सर्भिस’

प्रेमलाल सिंह अर्थात् पिएल सिंह । जो आफूलाई ‘पिपुल लभ सर्भिस’ भनेर चिनाउँथे । उनले आफूलाई चिनाउन नाम मात्रै फेरेनन्, काम पनि गरे । 

उनै पिएल सदाको लागि अस्ताएका छन् । आज ८७ वर्षको उमेरमा उनको निधन भयो । 

पिएल पञ्चायत कालका कठोर दिनमा गणेशमान सिंहका भरोसा थिए, काठमाडौं महानगरका प्रिय मेयर भए । ‘म सहरको मुख्य कुचीकार हुँ भन्थे’, जनतासँग जोडिएका थिए । सीधा थिए, कसैसँग झुकेनन्, सायदै कसैलाई झुक्याए ! 

लोकतन्त्रका लागि  उनले लामो संघर्ष गरे,  पञ्चायतकालमा उनी पटक–पटक जेल परे । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर लौहपुरुष गणेशमानको प्रमुख सहयोगी भएर काम गरे । नेपाली राजनीतिको निकै अप्ठ्यारा घडीमा गणेशमानको भरोसा बनेर उभिए ।  उसो त, गणेशमानले पनि उनलाई ‘राजनीतिक पुत्र’ का नामले चिनाएका थिए । 



पिएल प्रजातन्त्र पुनः प्राप्ति पछिको २०४९ सालमा भएको स्थानीय निर्वाचन तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो नगरप्रमुख हुन् । उनले आफ्नो पालामा विभिन्न पूर्वाधार बनाएर काठमाडौं नगरपालिकालाई काठमाडौं महानगरपालिकामा रुपान्तरण गरेका थिए ।

 २०५६ सालमा आम निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यसै बखत, नेपाली कांग्रेसको मन्त्रिपरिषद्मा वातावरण तथा जनसंख्या मन्त्री पनि बने । काठमाडौंको होस् या सरकारको, आफूले उच्च तहको नेतृत्व गर्दा उनले सधैँ निष्ठाको राजनीति गरे, र मानवताको पक्षमा रहेर समाजसेवा गरिरहे । र, लागिरहे ‘पिपुल लभ सर्भिस’मा । 



उनले २०१२ सालमा नेपाल छात्र संघका केन्द्रीय सदस्य हुँदै राजनीति यात्रा थालेका थिए । २०४६ को आन्दोलनका बेला अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता लिन पनि उनको उत्तिकै सक्रियता थियो ।

तर, २०५६ यता कांग्रेसका तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग नोकझोँक बढेपछि उनको राजनीतिक सक्रियता घट्दै गएको बताइन्छ । राजनीतिको परम्परावादी धारलाई प्रतिनिधित्व गर्दै आएका पिएललाई पछिल्लो समय कांग्रेसले समेत बेवास्ता गर्न थाल्यो । उनले नेपालमा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दा पार्टीभित्रै र गणतन्त्रबादी धारले उनलाई बेवास्ता गर्न थालेको विश्लेषण गरिन्छ । 



पिएल स्पष्टवक्ता र हक्की स्वभावका थिए ।  हङकङबजार नामले  चिनिने खुलामञ्चका टहराले सहरको अनुहार नै विगारहेको थियो ।  उनले खुल्लामञ्चलाई खुलै राख्नुपर्छ भन्ने अडान लिए । र, उनले भृकुटीमण्डपलाई विकल्पका रुपमा अगाडि सारे ।

उसो त, उनको हक्की स्वभाव राजनीतिमा सक्रिय नहुँदा पनि देखिन्थ्यो । उनले संविधान दिवस २०७८ को अवसरमा सरकारले दिएको ‘सुप्रसिद्ध प्रबल जनसेवाश्री’ पदक अस्वीकार गरेका थिए । त्यति मात्रै होइन, बेलायतको लन्डन सहरका लर्ड मेयरले ‘लर्ड मेयर’ भनेर सम्बोधन गर्दा आफूलाई ‘किङ अफ स्विपर’ अर्थात् ‘कुचीकारका राजा’ भनी व्यङ्ग्य गरेको विषय चर्चित छ । 

कुनै समय प्रतिनिधिसभामा शपथ लिन नैतिकताले नदिने अडान लिने दुई सदस्यमध्ये एक उनै पिएल थिए । २०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दबाबमा राजाले पुनः स्थापित गरेको प्रतिनिधि सभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पिएलले शपथ लिन अस्वीकार गरेका थिए।  

प्रायः  हाँस्यव्यंग्य गरिरहने, सरल जीवनशैली, हँसिलो अनुहार र फरासिलो व्यक्तित्व पिएललाई विशेषत राजनीतिमा संलग्न पुराना नेता र महानगरवासीले सधैँ सम्झिरहनेछन् ।  

  • प्रकाशित मिति : पुस १, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया