सांगठनिकरूपमा बलियो मानिने एमाले पार्टीभित्र पछिल्लो समय भिन्न किसिमको तरङ्ग पैदा भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनसक्ने आंकलनले एमाले वृत्तमा चर्चा र भेटघाट बाक्लिएको छ ।
राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर पार्टीको साधारण सदस्यतासमेत लिइसकेकी भण्डारीले विभिन्न कार्यक्रममा आफू राजनीति सक्रिय रहने संकेत दिइरहेकी छन् । शीतलनिवासमा छँदा कहिले संसद् विघटन तत्कालै सदर गरेर, कहिले संसदको प्रक्रियासम्मत बाटोबाट अनुमोदित नागरिकता विधेयक रोकेर चर्चा बटुलेकी थिइन् ।
राजनीतिमा कमब्याकको सम्भावना
राष्ट्रपतिको दुई कार्यकाल सम्हालेकी भण्डारी आफैंले पनि सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै आएकी छन् । सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर दुई वर्षअघि बिदा भएकी भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेर त्यसबेला नै राजनीतिमा फर्किने संकेत गरेकी थिइन् ।
गत वैशाखमा सम्पन्न नेकपाको ‘हीरक महोत्सव’मा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान पदकले विभूषित गरेपछि उनी सक्रिय राजनीतिमा आउने चर्चा झनै व्यापक भएको थियो ।
एमालेको कार्यक्रममा भण्डारीको उपस्थिति, वामपन्थी दलहरूलाई मिल्न दिएको सुझावले पनि उनी पुनः सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् कि भन्ने छनक देखिन्छ । एमालेका केही नेताहरूले पनि आगामी महाधिवेशनबाट भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु उचित हुने बहस चलाइरहेका छन् ।
यहीबीच, आइतबार नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधूप गर्नुको कुनै तुक नरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले पार्टीमा आउनुपर्यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई सचेत गराएको एमालेका एक नेताले जनाए ।
अबको महाधिवेशनमा प्रधानमन्त्री ओली फेरि अध्यक्ष बन्न चाहन्छन् भन्ने प्रष्ट छ । उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन् । महाधिवेशनअघि नै भण्डारी सक्रिय भए अप्ठ्यारो पर्ने त्रास प्रधानमन्त्री ओलीमा देखिन्छ ।
एमालेका केही नेताहरू अबको महाधिवेशनमा भण्डारीलाई नै अघि सार्नुपर्ने पक्षमा खुलेर लागिपरेका छन् । यसले पनि ओलीमा त्रास सिर्जना गरिदिएको छ । सोही कारण ओलीले एमाले नेताहरूलाई सचेत गराएको हुनसक्ने धेरैको आकलन छ ।
पूर्वराष्ट्रपति पदबाट बिदा भइसकेपछि भण्डारीलाई कुनै न कुनै रूपमा पार्टीका कार्यक्रममा निम्त्याइएको पाइन्छ । दुई वर्षको अवधिमा सबैतिर पुग्न सके परिणाम आफ्नो पक्षमा आउने भण्डारी पक्षका नेताको बुझाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीमा एमाले अध्यक्ष बन्ने चाहना रहेको नेताहरू बताउँछन् । तर, भण्डारीले औपचारिक रूपमा मुख खोलेकी छैनन् । एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई देखिने चर्चा एमाले वृत्तमा अहिले भुसको आगोझैँ सल्किएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुककै प्रथम महिला राष्ट्राध्यक्ष बनेर इतिहास रचिन् । २०७२ सालमा पहिलोपटक राष्ट्रपति निर्वाचित हुँदा उनी जति चर्चामा थिइन् । अहिले पनि उनी उस्तै चर्चामै छिन् ।
परम्परागत पितृसत्तात्मक राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्रमा फड्को मारेको मुलुकले दोस्रो राष्ट्रपतिका रूपमा महिला पाउँदा देशव्यापी उत्साह देखिएको थियो । तर, पछिल्लो चर्चामा संशय र चिन्ता समाहित छ । उनले आफ्नो मन, बचन र कर्मलाई पुनः दलीय राजनीतितर्फ नै केन्द्रित गदै लगेको देखिएको छ ।
भाग खोज्दै उपराष्ट्रपति पुन
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि राजनीतिमा सक्रिय भूमिकामा देखिन थालेका छन् । पुनले पार्टीको सक्रिय राजनीतिमा फर्कने चाहना राखेपछि नेकपा माओवादी केन्द्रलाई व्यवस्थापन गर्न सकस भइरहेको छ । माओवादीभित्र पुनका लागि उपयुक्त ठाउँबारे चर्चा सुनिन थालेको छ ।
पछिल्लो समय पुन माओवादीको बैठकमा नियमितजसो सहभागी हुँदै आएका छन् । माओवादी केन्द्रको जारी स्थायी समितिको बैठकमा औपचारिक एजेन्डामा उल्लेख नरहेको तर नेताहरूबीचमा छलफलको एउटा मूल विषय बनेको छ– पूर्वउपराष्ट्रपति रहिसकेका पुनको पार्टीमा पुनरागमन । उपराष्ट्रपतिको पदावधि सकिएको २ वर्ष नपुग्दै पुन फेरि सक्रिय राजनीतिमा फर्किन पार्टीभित्र आफ्नो ठाउँको खोजी गर्दैछन्, पुन ।
सशस्त्र संघर्षका बेला पुन माओवादीका चर्चित नेता थिए । सशस्त्र युद्धको कमान्डरदेखि माओवादीमा आइपर्ने सबै जसो समस्याको हल पुनबाटै हुने गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र भएकै कारण उनी देशको दोस्रो उपराष्ट्रपति बन्ने अवसर पनि पाएको माओवादी नेताहरूको भनाइ छ ।
पूर्वराष्ट्रध्यक्षको राजनीतिक पुनरागमन कति जायज ?
सामान्यतः संवैधानिक राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कँदैनन् । भण्डारी र पुन एकै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति भएका थिए । तर, पछिल्लो समय दुवै जनाले पार्टीको सक्रिय राजनीतिमा फर्कने चाहना राख्नु संयोग मात्र नभएको कतिपयको बुझाइ छ ।
जानकारहरू भने राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिले राजनीतिक नैतिकता देखाउनुपर्ने बताउँछन् । ‘राष्ट्रपति पद’ ‘देशकै सर्वोच्च पद हो । सर्वोच्च पदमा सम्हालिसकेको मानिस राजनीतिमा आउन शोभा दिँदैन,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘संवैधानिक शिष्टाचार, संवैधानिक नैतिकता र राजनीति मूल्य, मान्यताको हिसाबले राष्ट्राध्यक्षको राजनीतिमा पुनरागमन असोभनीय कार्य हो ।’ पूर्वराष्ट्रपतिको राजनीतिमा पुनरागमन राष्ट्रिय लज्जाको विषय भएको उनको ठम्याइ छ ।
उनका अनुसार राष्ट्रपतिको शपथ संविधानप्रतिको हो । बफादारिता मुलुक र जनताप्रतिको हो । यसमा मिसावट हुँदा राष्ट्रिय एकता प्रवर्द्धन र संविधानको पालन र संरक्षणको कर्तव्य पूरा हुन सम्भव छैन । यो गहन कर्तव्य त्यस्तो व्यक्तिबाट मात्रै सम्भव छ, जसले राष्ट्रपति पदको संवेदनशीलता, गरिमा, ओज र प्रतिष्ठालाई गहिरो गरी बुझ्नसक्छ ।
‘प्रत्यक्ष वा परोक्ष रूपमा दलको इसारामा नै चल्ने, दलप्रतिको बफादारिता कायम राखिरहने, राष्ट्रपतिको कार्यकाल सकिएपछि पुनः दलीय राजनीतिमा नै आफ्नो भविष्य देख्ने व्यक्तिबाट उल्लिखित भूमिका निर्वाह हुन सम्भव हुँदैन,’ अधिवक्ता त्रिपाठीले भने । देशको सर्वोच्च पदमा बसिसकेको मानिस पुनः राजनीतिमा फर्कनु भनेको पुनः विवादमा पर्नु हो । यसले नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
प्रथम राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा अनिच्छुक
देशको पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा सक्रिय राजनीतिबाट टाढै छन् । यादवले अवकाशयताको दिनचर्या ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा र झाले सप्तरीस्थित आफ्नै निवासमा बिताइरहेका छन् ।
पूर्वराष्ट्रपति यादवका समय–समयका अभिव्यक्ति संविधान र राष्ट्रपतिको भूमिकामा केन्द्रित हुने गरेको देखिन्छ । लामो समय कांग्रेसको राजनीति गरेका यादव अहिले पार्टी गतिविधिमा देखिएका छैनन् । उनी अहिले फर्कने योजनामा पनि नरहेको निकटस्थ बताउँछन् ।
पूर्वराष्ट्रपति यादव आफूनिकटसँग ‘रिटायर्ड लाइफ’मै सन्तुष्ट रहेको भन्दै राजनीतिमा फर्कने कुनै रुचि नरहेको बताउने गरेका छन् ।
प्रथम उपराष्ट्रपति झा पनि ‘रिटायर्ड’ जीवनमा खुसी देखिन्छन् । उपराष्ट्रपति हुनुअघि उनी न्यायाधीश थिए । उनले न्याय क्षेत्रमा चार दशक बिताएका थिए ।
जसपा नेपालका नेताहरूका अनुसार झा गृहजिल्ला सप्तरीमै बसिरहेका छन् । उमेरले ८० वर्ष नाघिसकेका झा काम परेका बेला मात्र काठमाडौं आउजाउ गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।