प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवा भावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमन्ड वा तनाव नलिई सेवा भाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमन्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटोमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।
व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धिका साथै थुप्रै ठूला उद्योगहरू सञ्चालनमा आएका बताए ।
अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए । उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।