logo-img

अपराजित यात्राको लक्ष्यमा सुदूरपश्चिम, बदला लिने दाउमा जनकपुर
पराजित टिमलाई फाइनल पुग्ने अर्को मौका

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर वानमा उच्च लयमा रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । यी दुई टिमबीचको बहुप्रतिक्षित प्रतिस्पर्धा आज दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

लिग चरणमा सुदूरपश्चिम र जनकपुरले सानदार प्रदर्शन गरे, जहाँ सुदूरपश्चिम सर्वाधिक सफल रह्यो । उसले सातमध्ये ६ मा जित र एक खेलमा मात्र पराजय बेहोर्‍यो ।

अपराजित यात्राको लक्ष्यमा सुदूरपश्चिम



लिग चरणमा सुदूरपश्चिमले अधिकांश खेलमा एकतर्फी जित निकाल्यो । उसले विराटनगर किंग्सलाई ९० रनले हराउँदै लिगमा सानदार डेब्यू गर्‍यो ।     

यस्तै, दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको अर्को फराकिलो जित निकाल्यो । ह्याट्रिक जित दर्ता गर्नेक्रममा सुदूरपश्चिमले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले स्तब्ध पार्‍यो । 



चौथो खेलमा भने सुदूरपश्चिमले खराब प्रदर्शन गर्‍यो । उक्त खेलमा ऊ चितवन राइनोजसँग ३३ रनले पराजित भयो । पाँचौं खेलमा सुदूरपश्चिमले सानदार कमब्याक गर्‍यो । त्यस खेलमा सुदूरपश्चिम जनकपुरविरुद्ध ७२ रनको एकतर्फी जित निकाल्दै प्लेअफ नजिक पुग्यो । 



छैटौँ खेलमा उसले पोखरा एभेन्जर्सविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्यो । लिग चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले कर्णालीविरुद्ध ६ विकेटको जित निकाल्दै सानदार लय कायमै राखेको छ ।

लिग चरणमा जनकपुरको प्रदर्शन

अनिलकुमार साह कप्तान रहेको जनकपुर बोल्ट्सले पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्‍यो । ऊ सातमध्ये पाँचमा विजयी तथा दुई खेलमा मात्र पराजित भयो । जनकपुरले पहिलो खेलमा सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्सलाई ८ विकेटले हरायो । दोस्रो खेलमा उसले कर्णाली याक्सविरुद्ध पनि ८ विकेटकै जित निकाल्यो । तेस्रो  खेलमा जनकपुरले पोखरालाई ७ विकेटले हरायो ।   

चौथो खेलमा उसले लुम्बिनीविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गर्‍यो । जनकपुरले पाँचौं खेलमा भने सुदूरपश्चिमविरुद्ध ७२ रनको फराकिलो हार बेहोर्‍यो । छैटौँ खेलमा उसले काठमाडौंलाई ५ विकेटले हराउँदै फेरि लय समात्यो ।

जनकपुर सातौं खेलमा भने चितवनविरुद्ध ३२ रनले स्तब्ध भयो । ऊ अब सुदूरपश्चिमविरुद्ध लिग चरणमा बेहोरेको लज्जास्पद हारको क्वालिफायरमा लिने दाउमा छ ।

लयमा रहेका खेलाडी

उता सुदूरपश्चिम जनकपुरविरुद्ध अपराजित यात्रा कायम राख्दै उपाधि नजिक पुग्ने योजनामा छ । जारी सिजनमा सुदूरपश्चिमको सानदार प्रदर्शनमा कप्तान दीपेन्द्र सिंह ऐरी, स्कट कुग्लाइन, सैफ अली जैब, हरमित सिंह र ब्रान्डन म्याकमुलेन राम्रो लयमा छन् । 

उता जनकपुरका लागि जिमी नीशम, ललितनारायण राजवंशी, लाहिरु मिलान्था, हर्ष ठाकर र किशोर महतोले राम्रो प्रदर्शन गरिरहेका छन् । जनकपुरका कप्तान अनिलकमार साहले सुदूरपश्चिमविरुद्धको ‘हाइभोल्टेज’ खेल गुमाउने सम्भावना छ । खेलका क्रममा ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औँलामा चोट लागेको बताइएको छ ।

यदि अनिलले नखेलेमा जनकपुरलाई घाटा हुन सक्छ ।

सुदूरपश्चिमको सम्भावित प्लेइङ–११ : सैफ अली जैब, विनोद भण्डारी (विकेटकिपर), ब्रान्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी (कप्तान), इशान पाण्डे, दिलप्रीत बाज्वा, हरमित सिंह, आरिफ शेख, स्कट कुग्लाइन, नरेश बुढाऐर र अविनाश बोहरा । 

जनकपुरको सम्भावित प्लेइङ–११ : अनिलकुमार साह (कप्तान), आसिफ शेख (विकेटकिपर), लाहिरु मिलान्था, हर्ष ठाकर, शुभ कंसाकार, जिमी नीशम, मोहम्मद मोहसिन, जोसुआ ट्रोम, शेर मल्ल, ललितनारायण राजवंशी र किशोर महतो ।  

यो पनि 

एनपिएल एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै, कसको पल्ला भारी ?

  • प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया