logo-img

कर्णाली याक्स एनपिएल क्वालिफायरमा, चितवन राइनोजको यात्रा समाप्त

कर्णाली याक्स पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर दुईमा प्रवेश गरेको छ । बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायर दुईमा प्रवेश गरेको हो । 

यो हारपछि चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । एलिमिनेटर खेलमा कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट १ सय ५४ रन मात्र बनाउन सक्यो । 

उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा चार छक्का र तीन चौकासहित ५३ रनको पारी खेलेका हुन् । यस्तै, कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लुक बेन्केनस्टाइनले १६ र शरद भेषवाकरले अविजित १० रन जोडे । 



कर्णालीका लागि जीशान मक्सूदले तीन, कप्तान सोमपाल कामी, नन्दन यादवले दुई/दुई र विपिन शर्माले एक विकेट लिए । 



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

उसका लागि जयकिशन कोलसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोलसावालाले ३८ बलमा ६ चौका र २ छक्कासहित ५२ रन बनाए । 



उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । एनपिएलमा भारतीय कोलसावालाको यो पहिलो खेल हो । र, उनले आफ्नो पहिलो खेलमै अर्धशतक बनाए । 

यस्तै, अस्ट्रेलियन अलराउन्डर बोसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्कासहित ५२ रनको इनिङ खेले । त्यस्तै, चाडविक वाल्टनले अविजित ४६ र जीशान मक्सूदले १४ रन बनाए । 

चितवनका लागि सोहेल तनवीरले दुई, कप्तान कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले एक/एक विकेट लिए ।

यो जितपछि कर्णालीले क्वालिफायर–२ मा स्थान बनाएको छ । उसले अब फाइनल प्रवेश गर्न क्वालिफायर-२ मा क्वालिफायर–१ को पराजित टिमको सामना गर्नेछ ।

क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमबीचको खेल बुधबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

  • प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया