नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा आशा गरेका धेरै खेलाडीले आफ्नो प्रदर्शनबाट निराश बनाए । उनीहरू नचल्दा टिमहरूले पनि लामो यात्रा गर्न सकेनन् ।
जस्तोः राष्ट्रिय टिमका नियमित सदस्य सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, गुलशन झालगायत खेलाडी । उनीहरू प्रदर्शनबाट समर्थक र टोलीलाई सन्तुष्ट पार्न चुके । तर, केही युवा खेलाडीले भने टिमको जितमा अहम् भूमिका खेले । तिनीहरूमध्येका एक हुन्, बायाँहाते स्पिनर विपिन शर्मा । कर्णाली याक्सबाट लिग खेलिरहेका उनले प्रत्येक खेलमा प्रभाव जमाइरहेका छन् ।
‘ट्यालेन्ट हन्ट’ बाट छानिएका १६ वर्षीय विपिनले ७ खेलमा ६.१६ को उत्कृष्ट इकोनमीमा १० विकेट लिइसकेका छन् । उनले अहिलेसम्म आउट गरेकामध्ये अधिकांश स्टार ब्याटर हुन् ।
विपिनले काठमाडौं गुर्खाजविरुद्ध खेल्दै एनपिएलमा पदार्पण गरे । त्यस खेलमा विपिनले ४ ओभरमा १८ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए ।
उनले आक्रामक डच ब्याटर माइकल लेभिटलाई २२ रनमा आउट गर्दै विकेटको खाता खोले । दोस्रो खेलमा त उनी कर्णालीको जितमा ‘नायक’ अर्थात् ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
चितवन राइनोजविरुद्धको उक्त खेलमा विपिनले ४ ओभरमा १८ रन मात्र खर्चिएर महत्वपूर्ण तीन विकेट हात पारे । चितवनविरुद्ध उनले जाननिकोल लोफ्टी इटन, सोहेल तनवीर र अमर सिंह रौटेलालाई पवेलियनको दिशा देखाए । सोही खेलबाट त हो कर्णालीले पनि जितको खाता खोलेको ।
विपिनले तेस्रो म्याच विराटनगर किंग्सविरुद्ध खेले । उक्त खेलमा पनि क्रिजमा विपिनको जादु देखियो । उनले विराटनगरविरुद्ध ४ ओभरमा एक मेडनसहित २० रन दिएर महत्वपूर्ण दुई विकेट लिए । विपिनले त्यस खेलमा न्युजिल्यान्डका विस्फोटक ब्याटर मार्टिन गप्टिल र अर्का आक्रामक ओपनर लोकेश बमलाई आउट गर्दै टिमलाई ब्रेक थ्रुक दिलाए ।
चौथो खेलमा पोखराविरुद्ध केही महँगा साबित भए पनि उनी विकेटविहीन भने हुन परेन । त्यस खेलमा विपिनले २ ओभरमा २१ रन दिएर एक विकेट लिए । उक्त खेलमा उनले एनपिएलमा पहिलो शतक हिर्काउने एन्ड्रिज गौसलाई आउट गरे । पाँचौं खेलमा पनि विपिनले आफ्नो प्रभाव जारी राखे ।
लुम्बिनी लायन्सविरुद्धको त्यस खेलमा उनले ४ ओभरमा एक मेडनसहित २५ रन दिएर एक विकेट लिए । उक्त खेलमा उनले अस्ट्रेलियन स्टार बेन कटिङलाई एक रनमै क्याच आउट गराए ।
विपिनले खेलेको छैटाैँ म्याचमा कर्णाली सुदूरपश्चिमसँग ६ विकेटले पराजित भयो । यद्यपि उनको व्यक्तिगत प्रदर्शन सन्तोषजनक नै रह्यो । त्यस खेलमा विपिनले तीन ओभरमा २२ रन दिएर महत्वपूर्ण एक विकेट लिए । उक्त खेलमा उनले विनोद भण्डारीलाई ४ रनमा एलबीडब्लु धरापमा पारे । लिग चरणमा मात्र होइन विपिनले एलिमिनेटरजस्तो महत्वपूर्ण खेलमा पनि राम्रो प्रदर्शन गरे ।
चितवनसँगको यस खेलमा उनले ४ ओभरमा २७ रन दिएर एक विकेट लिए । चितवनविरुद्ध विपिनले कप्तान कुशल मल्ललाई २१ रनमा बोल्ड गर्दै महत्वपूर्ण साझेदारी तोडेर कर्णालीलाई खेलमा फर्काए । कर्णालीले पनि क्वालिफायर–२ को यात्रा गर्न सफल भयो ।
विपिन एनपिएल खेल्ने सर्वाधिक कान्छो खेलाडी हुन् । क्रिजमा भने उनले परिपक्व खेल पस्किरहेका छन् । र, ‘मै हुँ’ भन्ने ब्याटरले पनि विपिनविरुद्ध रन जोड्न संघर्ष गरिरहेका थिए/छन् ।
धेरैले त विपिनलाई अर्को सन्दीप लामिछानेको उपमा दिएका छन् । साथै, उनको प्रदर्शनबाट भारतीय स्टार शिखर धवन पनि प्रभावित भए । विपिनले तीनवटा म्याच धवनसँगै खेलेका थिए ।
डेब्यू एनपिएल सिजनमै सनसनी मच्चाएका यी किशोर स्पिनरले आगामी खेलमा कस्तो प्रदर्शन गर्छन्, त्यो हेर्नलायक हुनेछ ।
तस्बिर : कर्णाली याक्स/एनपिएल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।