झापामा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको हो ।
ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा बिना खनजोत मकै खेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनको भनाइ छ ।
यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बिउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमुना खेतीमा डिएपी मल र बिउ एकै पटक राखिएको छ ।
जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकै खेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ । प्रविधिमय बनेसँगै किसानलाई सहज पनि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।