संसारभर एकाएक फैलिएको कोरोना महामारी सङ्क्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो ।
सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौँले रोजगारी गुमाउन पुगे । सयौँ सिनेमा घरहरू कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो रहन सकेन ।
तर पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । कुराकानीका क्रममा अध्यक्ष महर्जनले नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताए ।
उनले भने, ‘अहिले आएर विगत तीन महिनादेखि नेपालको सिनेमा हलहरू राम्रो लयतर्फ फर्किएका छन् । धेरै वर्षदेखि हलहरूको अवस्था राम्रो थिएन । लगातार तीन, चार महिनादेखि सिनेमाहरूको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरूको अवस्था राम्रो छ ।’
महर्जनका अनुसार पहिलेको तथ्याङ्क अनुसार लगभग ४ सय ५० हलहरू सञ्चालनमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरू सञ्चालनमा रहेका छन् । उनले २८० वटा हलहरू बन्द अवस्थामा रहेको बताए ।
उनले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउँदै अहिले जम्मा एक मात्र सञ्चालनमा रहेको बताए । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताए । बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरू बन्द छन् ।
यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरू बन्द छन् । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरू बन्द रहेको अध्यक्ष महर्जनले बताए । तर सरकारले थोरै मात्र सङ्ख्या बढाउन सहजीकरण गर्यो भने फिल्म क्षेत्र अगाडि बढ्न सक्ने उनी बताउँछन् ।
भन्छन्, ‘अब लगभग लगभग हामीसँग पहिलाको डाटा अनुसार हाराहारीमा साँढे चार सयको हलहरूको सङ्ख्या थियो । अहिले आएर १६० देखि ६५ वटा हलहरू मात्र सञ्चालनमा छन् । लगभग २८०/८१ वटा हलहरू चाहिँ बन्द भएको अवस्था छ ।’
काठमाडौंकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गङ्गा हल, गोपीकृष्ण हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् । देशमा हलको सङ्ख्या घट्दो छ ।
केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए । केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ । नयाँ प्रविधिको विकासका कारण परम्परागत हलहरू प्रभावित भएका छन् भने मल्टिप्लेक्सहरूले राम्रो स्थान जमाएका छन् ।
बन्द हुनुको प्रत्यक्ष कारण जेसुकै भए पनि राज्यको नीति मुख्य कारक रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । ‘हल बन्द हुनुमा राज्यको अव्यवहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नुलगायतका कारण छन्’, महर्जनले भने, ‘एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि चार करोड रुपैयाँसम्म लगानी लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन।’
हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए । ‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याजलगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, महर्जनले भने, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन् ।’ केही महिना अगाडि काठमाडौंस्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ ।
यसैगरी सिनेमा हलहरू बन्द हुनुको अर्को मुख्य कारण नेपाल सरकारले लगाएको कर नै बढी भएको बताए । उनले कर बढी भएका कारणले नै धेरैजसो सिनेमा हलहरू बन्द भएको बताए । उनले डिजिटल प्लेटफर्महरूको परिवर्तनले पनि लगानी गर्न नसकिएको अवस्थामा पनि सिनेमा हलहरू बन्द भएको बताए । उनले विगतमा सिङ्गल थिएटरहरूमा ऐनालगबाट सिनेमा चलाउँथ्यौँ अहिले आएर डिजिटलको युग आएर अबग्रेट हुन नसकेका कारण पनि सिनेमा हलहरू बन्द हुनुपरेको बताए ।
उनले भने, ‘करको कुरा सबैभन्दा ठूलो कारण हो । झण्डै झण्डै सिनेमा हलहरूले ३३ प्रतिशत कर तिर्नुपर्छ । कर्पोरेट टेक्स बाहेक पनि सिनेमा हलहरूले धेरै कर तिर्नुपर्छ । मानौँ तीन सय रुपैयाँको टिकट काट्यौँ भने पनि सिनेमा हलमा बच्ने भनेको एक सय रुपैयाँ मात्र हो । एक सय रुपैयाँ हाम्रो करमा जान्छ, सय रुपैयाँ फिल्मले लिएर जान्छ भने एक सय रुपैयाँले मात्र हाम्रो सिनेमा हल चलाउन सकिँदैन ।’
साथै उनले सिनेमा हलहरूको लगानी डुब्दा सिने क्षेत्रमा धेरै असर पुगेको बताए । उनले सिनेमा सञ्चालक, निर्माता र वितरकहरूलाई धेरै नै क्षति भएको बताए । डिजिटल प्लेटफर्महरू आएसँगै सिङ्गल थ्रिटरहरु मल्टिप्लेक्समा कन्भर्ट भएपछि फिल्म देखाउन झन् सहज भएको बताए । मल्टिप्लेक्सतर्फ आकर्षण बढ्दै गएपछि सिङ्गल थ्रिटरहरुलाई मल्टीप्लेक्समा कन्भर्ट गर्नलाई लगानीको ठूलो आवश्यकता पर्दा पनि सिनेमा हलहरू बन्द हुनु परेको बताए ।
छिमेकी देश भारतमा कुनै पनि प्रदर्शकले सिनेमा हलहरूलाई अब ग्रेट गर्न चाहे सरकारले सहयोग गर्छ तर त्यो अवस्था नेपालमा नभएको उनले गुनासो गरे । चलचित्रमा जिएसी जम्मा पाँच प्रतिशत लिनुपर्नेमा सरकारले यो फिल्म उद्योगलाई केन्द्रमा नराखेको कारणले पनि सिनेमा हलहरू दिनहुँ बन्द हुँदै गइरहेको बताए । उनले सरकारले सिनेमा क्षेत्रको विषयमा गम्भीर रूपले सोच्नुपर्ने बताए । सिनेमा क्षेत्रमा लगानी गर्ने मान्छेलाई सरकारले साथ र सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
उनले बारम्बार चलचित्र संघले पहल गर्दा पनि अहिलेसम्म सम्बोधन हुन नसकेको बताए । साथै उनले सुरुमा चलचित्र बोर्डको गठन हुँदादेखि पनि १५ प्रतिशत मात्र कर तिर्नुपर्ने भनेका थियौँ तर त्यो अहिलेसम्म घट्न नसकेको बताए ।
उनले भने, ‘हामीले बारम्बार चलचित्र विकास बोर्ड, सञ्चार, अर्थ मन्त्रालयसँग सिनेमा क्षेत्रकाबारे पहलकदमी गरिरहेका हुन्छौँ । तर खासै अहिलेसम्म पहल भएको जस्तो लाग्दैन । अब सुरुमा चलचित्र विकास बोर्डको गठन हुँदा खेरी सिनेमा क्षेत्रमा १५ प्रतिशत कर लिने भन्ने निर्णय २०५८ सालमा गरेका थियौँ तर अहिलेसम्म करको दायरा घटाउन सकिएको छैन । यसमा धेरै पहल गर्यौँ तर त्यो सुनुवाइ भए जस्तो लागेको छैन ।’
यसै गरी उनले चलचित्र उद्योगलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने आफूहरूको माग रहेको बताए । उनले निर्माणलाई उद्योग सरहको मान्यता दिए पनि प्रदर्शकलाई नदिएकोमा दुख लागेको बताए । यसै गरी सिनेमा हलहरू बन्द हुँदा फिल्म प्रदर्शनमा समेत समस्या आइरहेको बताए । उनले सरकारले सिनेमा हलहरूको सङ्ख्या बढाएर मात्र कर बढी लिनु सान्दर्भिक हुने बताए ।
नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।