जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा प्रवेश गरेको हो ।
अब उसले उपाधिका लागि सुदूरपश्चि रोयल्सको सामना गर्नेछ । उपाधि भिडन्त शनिबार हुने तालिका छ ।
क्वालिफायर–२ मा कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जिमी नीशमले १७ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ४५ रन बनाए ।
यस्तै, हर्ष ठाकरले १७, शेर मल्लले अविजित १६, मयन यादवले १४ र आकाश त्रिपाठीले १३ रन जोडे ।
बलिङतर्फ कर्णालीका लागि १६ वर्षीय विपिन शर्माले ४ ओभरमा १७ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जीशान मक्सूदले एक/एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो ।
उसका लागि गुलशन झाले २५, देव खनालले २४, विलियम बोसिस्टोले १४, जीशान मक्सूदले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
जनकपुरका लागि मोहम्मद मोहसिन, ललितनारायण राजवंशी र जिमी नीशमले दुई/दुई तथा शेर मल्ल र हर्ष ठाकरले एक/एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।