भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदसारङ्गी र राजपुतलाई फोन गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका छन् ।
कांग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।
भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।
भारतीय जनता पार्टी (भाजपा) का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दाबी गरेका छन् । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताएका छन् ।
सिंहले पत्रकारसँग भनेका छन्, ‘गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।’
घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताए । उनले भने, ‘उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।’
उनले भने, ‘अस्पतालमा ल्याईपुर्याँउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन् ।’
शुक्लाले अगाडी भने, ‘राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।’
कांग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भने, ‘म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।’
गान्धीले भने, ‘उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ ।’ उनले थपे, ‘हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।’
कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाएका छन् ।
उनले भने, ‘लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो। भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।