logo-img

सांसदहरूबीच छलफल : कर्मचारीको सरुवा-बढुवामा हुने मनपरी रोक्न ऐन बनाऔँ

प्रतिनिधिसभाका सदस्यहरूले निजामती कर्मचारीको मनपरी रूपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्ट रूपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले सिंहदरबारमा ‘अतिरिक्त समूह’ र कायम मुकायम ‘कामु’ मा कर्मचारी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव दिए । 

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरूले कर्मचारीको सङ्घीय राजधानी, सिंहदरबारभित्रै एक मन्त्रालयबाट अर्को मन्त्रालय र आसपासकै कार्यालयमा सरुवा हुने तर दुर्गममा जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिए । कतिपय निजामती कर्मचारीको एक वर्षको अवधि पूरा नहुँदै सरुवा भइरहने र त्यसको असर कार्यसम्पादनमा पर्ने गरेको उनीहरूको भनाइ छ । 

संशोधनकर्ता सांसद मीना तामाङले निजामती कर्मचारी व्यवस्थापनबारे भनिन्, ‘तीन तीन महिनाभित्र सरुवा भइरहेको छ । कुन मन्त्रालयमा कुन सचिव कार्यरत हुनुहुन्छ, चिन्न गाह्रो छ । सबै तहका कर्मचारी कम्तीमा एक ठाउँमा एक वर्ष बस्नै पर्ने व्यवस्था गरौँ ।’

सांसद रामकुमार राईले दुर्गम क्षेत्रमा जाँदै नजाने कर्मचारीलाई बाध्यात्मक टिप्पणी खुलाई अनिवार्य जानुपर्ने व्यवस्थाको माग गरे । अर्का संशोधनकर्ता सुशीला श्रेष्ठले निजामती कर्मचारीको सबै तहमा महिलाको सहभागिताका लागि संशोधन प्रस्तुत गर्दै सरुवा र बढुवा व्यवस्थित बनाउन माग गरे ।  



‘मन्त्री परिवर्तन हुने बित्तिकै कर्मचारी सरुवा र बढुवाको चलखेल सुरु हुनु भएन । काम गर्ने वातावरण दिने ऐन बन्नुपर्छ’, उनले भने । 

छलफलमा संशोधनकर्ता अमरेशकुमार सिंहले काजमा काम गर्ने व्यवस्था हटाउन सुझाव दिए । ‘सरकार ‘इ गर्भनेन्स’ को अभ्यासमा छ । काठमाडौं कर्मचारी आइरहनुपर्दैन । काजमा काम गर्ने व्यवस्था बन्द गरौँ’, उनले भने, ‘काम गर्ने दिनको ९० दिन नबस्नेलाई कारबाही गरौँ ।’ उनले कर्मचारीको सेवा निवृत्तिको एक वर्ष अघिसम्म बढुवा नगर्न सुझाव दिए । 



समितिले विधेयकलाई सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल अघि बढाएको छ । समितिको अर्को बैठक आइतबार बस्ने तय भएको छ । 



  • प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया