केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिकरूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।
स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिए ।
चालू आव २०८१/८२ को प्रथम चौमासिकअन्तर्गत करिब १२४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी नाकाबाट अन्यन्तै न्यून माल सामग्री निर्यात हुने गरेको बताइन्छ । प्राप्त विवरणानुसार ऊनको गलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा माझ्ने स्टिल उड र काठका सामग्री छन् । आयाततर्फ भने जुत्ताचप्पल, तयारी पोशाक, विद्युतीय सामग्री छन् ।
आयातका साथसाथै गैरकानुनी गतिविधि पनि बढ्न थालेका कारण राजस्व चुहावत नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मितेरी पुलमा २४सै घण्टा पालो पहरा दिइरहेका कारण सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारी बताउँछन् ।
विसं २०७२ देखि पूर्ण रूपमा चालू भएको रसुवागढी नाकामा सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन सञ्चालनमा निकै असहज बन्दै गएको सवारी चालकले बताएका छन् । सडक सुधारका लागि थोरै खर्चले धेरै काम हुने चालकहरूले सुझाव पनि दिएका छन् ।
स्याफ्रुबेँसी–रसुवागढी खण्डका वर्षायाममा होचो अग्लो भएको स्थानलाई सम्म बनाइ रोलारले पेलिदिने व्यवस्था भएमा हिउद यामलाई सवारीसाधन गुढाउन सहज हुने डिब्बा चालक जङ्गबहादुर तामाङले सुझाव दिए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।