संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
शुक्रबार महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिको कार्य प्रगति समीक्षाबारे छलफल हुनेछ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे बोलाइएको छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकको भने समय तोकिएको छैन । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।