पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुरुवातदेखि नै चर्चामा रह्यो । भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी नीशमदेखि इंग्ल्याण्डका रवि बोपाराजस्ता स्टारको सहभागिताका कारण पनि एनपिएलले सुरुवातदेखि नै चर्चा पाएको हो ।
लिगको बीचमा वेस्ट इण्डिजका महान् क्रिकेटर ब्रायन लाराको आगमनले एनपिएलले थप उचाइ लियो । यस्तै, विभिन्न पुरस्कारका कारण पनि एनपिएल चर्चामा छ ।
क्यानका अनुसार एनपिएलको पहिलो संस्करणको च्याम्पियनले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, लिगमा ‘सर्वोत्कृष्ट’ हुने खेलाडीले कार उपहार पाउने छन् । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक व्यावसायिक लिगमा खेलाडीलाई कार दिन लागिएको हो ।
एनपिएल अन्तिम चरणमा पुगेसँगै कार जित्नसक्ने खेलाडीबारे अनुमान गरिन थालिएको छ । क्यानका अनुसार यसपालि लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले ओमाडा कम्पनीको ६२ लाख मूल्य पर्ने कार उपहार पाउने छन् ।
कार जित्ने प्रतिस्पर्धामा तीन खेलाडी
दीपेन्द्र सिंह ऐरी
एनपिएलमा कार उपहार पाउने सम्भावित खेलाडीको सूचीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्र सिंह ऐरी शीर्ष स्थानमा छन् । सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले जारी एनपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
व्यक्तिगत मात्र होइन उनीआबद्ध टिमले पनि राम्रो नतिजा हासिल गरिरहेको छ । दीपेन्द्र नेतृत्वको सुदूरपश्चिमले फाइनलको यात्रा पनि गरिसकेको छ । सुदूरपश्चिमले लिगमा कुल ८ म्याच खेल्दा सातमा जित र एक खेलमा मात्र पराजय बेहोरेको छ । उसले अधिकांश खेलमा एकतर्फी जित निकाल्यो ।
सुदूरपश्चिमको सानदार प्रदर्शनमा दीपेन्द्रको भूमिका अहम् छ । उनले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । दीपेन्द्रले ८ म्याचमा १६२.६८ को स्ट्राइक रेटमा २ सय १८ रन बनाएका छन् । त्यसक्रममा उनले एक अर्धशतकीय पारी खेलेका छन् । बलिङमा पनि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
उनले ६ इनिङ्समा ६.४२ को इकोनमीमा ८ विकेट लिएका छन् । यस्तै, फिल्डिङमा पनि दीपेन्द्रको प्रदर्शन तारिफयोग्य छ । उनी अब फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेर टिमलाई उपाधि दिलाउन र आफू कार जित्ने सोचमा छन् ।
ललितनारायण राजवंशी
कार जित्ने दौडमा जनकपुर बोल्ट्सबाट एनपिएल खेलिरहेका स्पिनर ललितनारायण राजवंशी पनि छन् । जनकपुरको जितमा अहम् भूमिका खेलिरहेका उनी सर्वाधिक विकेटकर्ताको सूचीको नम्बर वानमा छन् ।
ललितले विराटनगरविरुद्ध खेल्दै एनपिएलमा डेब्यू गरेका थिए । उक्त खेलमा उनले २८ रन दिएर तीन विकेट लिए । यस्तै, ललितले दोस्रो खेलमा कर्णालीविरुद्ध १६ रन दिएर एक तथा तेस्रो खेलमा पोखराविरुद्ध ३१ रन दिएर तीन विकेट लिए । चौथो खेलमा १३ रन दिएर एक विकेट लिएका उनी पाँचौं खेलमा सुदूरपश्चिमविरुद्ध भने विकेटविहीन बने । त्यस खेलमा ललितले बिनाविकेट ३२ रन दिए ।
छैटौँ खेलमा भने उनले सानदार प्रदर्शन गरे । उनले काठमाडौंविरुद्धको उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ८ रन मात्र दिएर तीन विकेट लिए । सो खेलमा ललित ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै, लिग चरणको अन्तिम खेलमा चितवनविरुद्ध उनले ११ रन दिएर २ विकेट लिए । क्वालिफायर वानमा सुदूरपश्चिमविरुद्ध ललितले ४ ओभरमा ३७ रन खर्चेर एक विकेट हात पारे ।
क्वालिफायर–२ मा उनले राम्रो कमब्याक गरे । कर्णालीविरुद्ध यस खेलमा उनले ४ ओभरमा २२ रन दिएर दुई विकेट लिए । टिम फाइनल पुगिसकेकाले ललितसामु अझ उत्कृष्ट प्रदर्शन गरेर कार जित्ने प्रतिस्पर्धालाई बलियो बनाउने मौका छ ।
रोहितकुमार पौडेल
कार जित्ने दौडमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि कायमै छन् । टिम तालिकाको पुछारमा रहे पनि उनको व्यक्तिगत प्रदर्शन सानदार रह्यो । लिग चरणमा रोहित सर्वाधिक रन बनाउने सूचीको नम्बर वानमा रहे ।
उनी कम खेलमा २ सय रन कटाउने खेलाडी हुन् । रोहितले ७ खेलमा २ अर्धशतकको मद्दतमा १३१.६० को स्ट्राइक रेटमा २ सय ७९ रन बनाए । उनी दुई एनपिएलमा उच्च स्कोर बनाउने नेपाली ब्याटर हुन् ।
रोहित दुई खेलमा शतक नजिक पुगेका थिए । उनले पोखराविरुद्ध ५९ बलमा १० चौका र ४ छक्कासहित ९५ तथा चितवनविरुद्ध ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८० रनको सानदार इनिङ खेले ।
ब्याटिङमा मात्र होइन रोहितले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ६ इनिङ्समा ५.६३ को इकोनमीमा ८ विकेट लिए । व्यक्तिगत प्रदर्शन हेर्न हो भने रोहित कार जित्नलायक छन् ।
तस्बिर : एनपिएल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।