कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि फेरि बोलपत्र आह्वान भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत त्रिवि मैदानलाई स्तरीय बनाउने कामअन्तर्गत प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको जनाएका छन् ।
‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्याराफिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौ’, ओलीले भनेका छन्, ‘यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ । त्यसबेला क्यानका पदाधिकारीहरूले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौँ भन्ने सल्लाह दिनु भएको थियो । जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।’
प्रधानमन्त्री ओलीले अब तीन सिफ्टमा धमाधम काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्न अनुरोध गरेका छन् । उनले मैदानलाई विश्वस्तरको बनाउने योजना त्यसपछि पनि जारी रहने उल्लेख गरेका छन् ।
यसअघि फ्लडलाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुईपटक रद्द भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।