भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफूहरूले भोटको राजनीति गरिरहेको बताएका छन् । मन्त्री दाहालले शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले भोटको राजनीति गरेकै कारणले हामीहरूलाई जनताले प्रश्न तेर्साउने गरेको बताएका हुन् ।
उनले भने ‘हामी त फेरी भोटको राजनीति गरिरहेका छौँ । जनताले खै हाम्रो पुल बनेको ? खै मेरो बाटो बनेको भनेर प्रश्न तेर्साउने नै भए । एकातिर बजेटको अभाव छ भने एकातिर सीमित स्रोतसाधन छन् । तर अर्कोतिर धेरै जनताको आकाङ्क्षाहरू रहेका छन् । जनताको मानसिकतामा हामी राजनीतिकर्मीहरूले परिवर्तन ल्याउनुपर्छ । नेताको आफ्नो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, हामी सबै परिवर्तित हुनुपर्छ ।’
साथै उनले निर्माणका कार्यहरूमा सरकारको मात्र कमीकमजोरी नभएर निर्माण व्यवसायीको समेत कमीकमजोरी भएको बताए । उनले थुप्रै आयोजनाहरू निर्माण व्यवसायीले लिने तर निर्माण नगरी लथालिङ्ग अवस्थामा छोड्ने गरेको बताए ।
उनले भने , ‘हाम्रो मन्त्रालयबाट भुक्तानी धेरै चुक्ता भइसकेको छ । तर हामीले तथ्याङ्कमा धेरै विवाद गर्नु हुँदैन । अहिलेसम्म हामीले पहुँचका आधारमा माथिल्लो तहबाटै योजना छनोट गर्ने गरेका छौँ । यसले काम हुन सकेन । त्यसैले अब तलबाट योजना छनोट गर्ने विधि आवश्यक छ, योजना छनोटमा सुधार आवश्यक छ ।’
उनले प्राथमिकताका आधारमा छनोट गरेर काम गरे मात्र निर्माण क्षेत्रको समस्यामा कमी आउने बताए । उनले भने, ‘योजना छनोटमा सरकारकै कमजोरी छ । आयोजनाहरू बेवास्ता गर्ने काम भइरहेको छ, प्राथमिकताका आधारमा आयोजना छनोट गर्न जरुरी छ । आयोजना मुलुकलाई प्रतिफल दिने खालका, उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।