हङकङविरुद्धको यू–१९ एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ । शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा हङकङलाई १३० रनले हराउँदै सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
तेस्रो खेलमा नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनायो । उसका लागि प्रित मांगुकियालेले अविजित ५५ रन बनाए ।
बाँकी ब्याटरले ठूलो पारी खेल्न सकेनन् । नेपालका लागि अभिषेक तिवारी र आफुदिन रैनले दुई/दुई तथा सन्तोष यादव, दीपक सेरेला र राजेश बोहराले एक/एक विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल यू–१९ टिम ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भयो ।
नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ९६ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ६० रन बनाए ।
यस्तै, अभिषेकले ४१ बलमा चार चौका र दुई छक्कासहित ५६ रनको इनिङ खेले । त्यस्तै, सन्तोषले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । उनी रनआउट भए ।
यस्तै, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए । हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई÷दुई विकेट लिए ।
नेपालले पहिलो खेल तीन विकेट र दोस्रो खेल २२६ रनले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।