नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।
शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूले आफूलाई भन्न मन लागेको कुराहरू बिपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्यो भने कहाँ गएर खोज्ने भने बिपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ । तर, बिपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । तर, हामीलाई बिपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ ।’
त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन परेको छैन, कसैलाई संविधान मन नपरेको होला तर सबैलाई बिपीको नाम जोड्दा सजिलो भएको बताए ।
साथै उनले कांग्रेस पार्टी किन छ भनेर बुझ्न जरुरी रहको बताए । उनले पार्टीमा सक्रिय भइसकेपछि एकदुईवटा कुरा मात्र सोचेर बस्न नहुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।