logo-img

एनपिएल फाइनल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । 

सुदूरपश्चिम पहिलो क्वालिफायर तथा जनकपुर दोस्रो क्वालिफायर विजेताको रूपमा फाइनलमा उपाधिका लागि भिड्न लागेका हुन् ।  

सानदार लयमा सुदूरपश्चिम  



जारी एनपिएलको फाइनलसम्म पुग्दा सर्वाधिक सफल टिममा पर्छ, सुदूरपश्चिम । ऊ सुरुवातदेखि नै विपक्षी टिमविरुद्ध हाबी देखियो । सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराउँदै सानदार डेब्यू गरेको थियो । त्यस खेलमा १८३ रनको लक्ष्य दिएको सुदूरपश्चिमले विरानटनगरलाई ९२ रनमै अलआउट गर्‍यो ।  

दोस्रो खेलमा पनि उसले काठमाडौं गुर्खाजविरुद्ध एकतर्फी जित निकाल्यो । सुदूरपश्चिमले उक्त खेलमा काठमाडौंलाई ९४ रनमै अलआउट गरेर ७३ रनले खेल जित्यो ।  



जितमा ह्याट्रिक गर्नेक्रममा सुदूरपश्चिमले तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकाल्यो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको पराजय बेहोर्‍यो । यद्यपि पाँचौं खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध कीर्तिमानी प्रदर्शन गर्‍यो । 



त्यस खेलमा १२४ रनको लक्ष्य दिएको सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमै अलआउट गर्‍यो । योसँगै सुदूरपश्चिम जारी सिजनमा विपक्षी टिमलाई सर्वाधिक कम स्कोरमा अलआउट गर्ने टिम बन्यो । छैटौँ खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेर अपराजित यात्रा कायमै राख्यो । 

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै शीर्ष स्थान हासिल गरेर पहिलो क्वालिफायरमा स्थान बनायो । क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ८ विकेटको फराकिलो जित हात पारेर फाइनलको टिकट सुरक्षित गर्यो । ऊ अब जारी सिजनमा जनकपुरविरुद्ध ह्याट्रिक जित निकालेर च्याम्पियन बन्ने लक्ष्यमा छ । 

जनकपुर प्रदर्शन 

जनकपुरले फाइनलसम्म आइपुग्दा ९ म्याच खेलेको छ, जसमध्ये उसले ६ मा जित र तीन खेलमा हार बेहोर्‍यो । जनकपुरले पनि विराटनगरलाई हराउँदै लिगमा सानदार सुरुवात गरेको थियो । उसले उक्त खेलमा विराटनगरलाई ८ विकेटले हरायो । दोस्रो खेलमा जनकपुरले कर्णालीविरुद्ध पनि ८ विकेटको जित दर्ता गर्‍यो ।  

ह्याट्रिक जित दर्ता गर्नेक्रममा उसले पोखरालाई ७ विकेटले हरायो । चौथो खेलमा जनकपुरको भेट लुम्बिनीसँग भयो । त्यस खेलमा उसले एक रनको रोमाञ्चक जित निकाल्यो । पाँचौं खेलमा भने जनकपुरले सुदूरपश्चिमविरुद्ध ७२ रनको फराकिलो हार बेहोर्‍यो । छैटौँ खेलमा काठमाडौंलाई ५ विकेटले हराउँदै उत्कृष्ट कमब्याक गरेको जनकपुर सातौं खेलमा चितवनसँग ३२ रनले स्तब्ध भयो । 

लिग चरणमा दोस्रो स्थान हासिल गरेकाले उसले क्वालिफायर वानमा सुदूरपश्चिमसँग खेल्नुपर्ने समीकरण बन्यो । जहाँ जनकपुरले ८ विकेटको लज्जास्पद हार बेहोर्‍यो । यद्यपि उसले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णालीविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेर फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्‍यो । जनकपुर अब आफ्नो लय कायम राख्दै सुदूरपश्चिमविरुद्ध ‘ह्याट्रिक’ हारबाट जोगिएर उपाधि जित्ने दाउमा छ ।   

सुदूरपश्चिमको प्लेइङ-११ :दीपेन्द्रसिंह ऐरी, हरमित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सैफ जेब, आरिफ शेख, इशान पान्डे, नरेश बुढाऐर, स्कट कुग्लाइन, नरेन साउद र अविनाश बोहरा ।

जनकपुरको प्लेइङ-११ : आसिफ शेख, लाहिरु मिलान्था (विकेटकिपर), आकाश त्रिपाठी, हर्ष ठाकर, जिमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो र ललित राजवंशी । 

  • प्रकाशित मिति : १० घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया